काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

विश्व साइकल दिवस

स्वास्थ्य र वातावरण दुवैको दृष्टिकोणले साइकल उत्तम विकल्प भए पनि पूर्वाधार अभावले जोखिम कायमै

२० जेष्ठ २०८३
माइतीघर मण्डलादेखि तीनकुने खण्डको फुटपाथको छेउमा रहेको फाल्चाबाट साइकल चलाउँदै यात्री।
अ+
अ-

सानैदेखि साइकल चलाउन बानी परेकी ललितपुर, बुङ्‌मतीकी ६१ वर्षीया अभियन्ता महेश्वरी विष्ट सहरमा आवतजावत गर्न पनि साइकल नै रुचाउँछिन्। तर, सडकमा ठूला सवारीसाधनसँग जहिल्यै तँछाडमछाड गर्नुपर्छ। उनी भन्छिन्, “कतै कतै साइकल लेन भनेर रंग्याइएको छ, त्यो छुट्टै (डेडिकेटेड) साइकल लेन होइन, त्यसैले सुरक्षित छैन।” ठूला चारपांग्रे सवारीसाधनका चालकले लेन मिच्ने हेपाहा प्रवृत्ति पहिलेभन्दा कम भए पनि पूर्ण रूपमा सुध्रिनसकेको उनको अनुभव छ। “समूहमा साइकल चलाउँदा खासै जोखिम हुँदैन, एक्लै हुँदा पेलिहाल्छन्,” उनी भन्छिन्।

विष्ट अवकाशप्राप्त निजामती कर्मचारी हुन्। उनले विभिन्न जिल्लामा महिला विकास प्रमुखको जिम्मेवारी सम्हालिन्। सोही क्रममा ‘मोबिलिटी’ ले मात्रै महिला सशक्तीकरण हुने महसुस गरिन् र त्यसका लागि साइकल सिकाउन थालिन्। २०७७ सालयता उनले सात हजार महिलालाई साइकल सिकाइसकेकी छन्।

तस्बिर स्रोत : महेश्वरी विष्टको फेसबुक।

सुरुमा आठ जना महिलाले मात्रै साइकल सिक्ने रुचि देखाएको उनी बताउँछिन्। पछिल्लो समय भने साइकल सिक्ने र चलाउने रुचि बढेको छ। “साइकल चलाउँदा शरीर चलायमान, फुर्तिलो र तन्दुरुस्त बनाउने भएकाले गृहिणीले पनि रुचाएका छन्,” उनी भन्छिन्, “स्वास्थ्य र पर्यावरणका लागि पनि साइकल चलाउनु राम्रो हो, सारी नकिनेर साइकल किन्ने हाम्रो अभियान पनि हो।” तर, असुरक्षित लेनका कारण चिन्ता घटेको छैन। “दिदीबहिनीलाई सिकाएर सडकमा पठाउँदा पनि डरै हुन्छ, केही भयो भने फलानाले गर्दा भनेर आफैँलाई दोष आउँछ,” उनी भन्छिन्। उनले सडकमा सुरक्षित साइकल यात्राका लागि ट्राफिक नियमबारे पनि सिकाउने गरेकी छन्।

काठमाडौँ उपत्यकालगायत सहरमा साइकललाई दिनहुँको सहयात्री (डे-टु-डे मोबिलिटी) बनाउन साइकलमैत्री सडक र मानवीय व्यवहारको आवश्यकता रहेको उनको भनाइ छ। यही सचेतना फैलाउन आज विश्व साइकल दिवसको अवसर पारेर उनीसहितका साइकलयात्रीले खुलामञ्चमा र्‍याली आयोजना गरेका छन्। सन् २०१८ देखि सुरु भएको विश्व साइकल दिवस हरेक वर्ष ३ जुनमा मनाइन्छ। दिवसका लागि यसपालिको नारा छ– ‘साइक्लिङ फर अ ग्रिनर फ्युचर’ अर्थात् हरित भविष्यका लागि साइकल यात्रा।

काठमाडौँमा वायु प्रदूषणको कारकमध्ये पुराना तथा डिजेल-पेट्रोलबाट चल्ने सवारीसाधनबाट निस्कने कालो धुवाँ (ब्ल्याक कार्बन) पहिलो नम्बरमा पर्छ। आँखाले देख्न नसकिने २.५ माइक्रोन वा सोभन्दा साना सूक्ष्म कणको वार्षिक औसत तहका आधारमा विश्व बैंकले गरेको विश्लेषणअनुसार काठमाडौँमा वायु प्रदूषणको मुख्य कारकमा यातायात क्षेत्रको हिस्सा २७ प्रतिशत छ। प्रहरीको तथ्यांकअनुसार दुई हजार ८४ किमि सडक भएको काठमाडौँका तीन जिल्लामा मात्रै आव २०८०/८१ सम्म दर्ता भएका सवारीसाधनको संख्या १९ लाख ८८ हजार छ।

पुराना तथा डिजेल-पेट्रोलबाट चल्ने सवारीसाधनबाट हुने कार्बन उत्सर्जनलाई घटाएर वायु गुणस्तर सुधार्न साइकललाई उत्तम विकल्प मानिए पनि साइकलमैत्री पूर्वाधारको अभाव छ। “हाम्रोमा साइकलका लागि डेडिकेटेड लेन छैन, कतै कतै सडकमा साइकल आकृतिमा हरियो पोतेर वा इँटा बिछ्याएर साइकल लेन (सेयर्ड) बनाए पनि सहज छैन,” सहरी विकास अभियन्ता सौरभ ढकाल भन्छन्। ढकालले सन् २००८ तिरै काठमाडौँलाई साइकलमैत्री सहर बनाउने पहल गरे पनि हालसम्म पूर्णता पाएको छैन। सन् २००८ मा पहिलोपल्ट त्रिभुवन विमानस्थलअगाडि साइकल लेन बनेको थियो। त्यसैलाई नेपालको पहिलो र ‘डेडिकेटेड’ साइकल लेन मानिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

त्यसपछि माइतीघरदेखि तीनकुने सडकखण्डमा हरियो रङ पोतेर साइकल लेन बनाइयो। यसले मात्रै सुरक्षित साइकल यात्रा सुनिश्चित नहुने भएपछि पैदलयात्री, साइकलयात्री र सार्वजनिक सवारीसाधनलाई सहज हुने गरी सडक मापदण्डको बहस हुन थाल्यो। सहरी विकास मन्त्रालयले जारी गरेको ‘नेपाल सहरी सडक मापदण्ड, २०७६’ ले सहरी सडकलाई चार वर्गमा विभाजन गर्छ– मुख्य सडक, सहायक सडक, मार्ग र उपमार्ग। यी चारै किसिमका सडकमा फुटपाथ, साइकल ट्र्याक र बोटबिरुवा अनिवार्य हुनुपर्ने व्यवस्था छ। मापदण्डअनुसार मुख्य सडकको चौडाइ ५० मिटरको हुन्छ। सडकको दुवैतर्फ कम्तीमा दुई मिटरको फुटपाथ हुनुपर्छ। त्यसबाहेक दुवैतर्फ कम्तीमा दुई मिटरको साइकल ट्र्याक हुनुपर्छ। तर, माइतीघरदेखि तीनकुने खण्डमा यो मापदण्ड लागु हुन नसकेको ढकाल बताउँछन्। “त्यस साइकल लेनमा धेरै पटक लगानी भयो, तर डेडिकेटेड लेन बनेन,” उनी भन्छन्, “साइकल लेन बनाउने भनिएको ठाउँ सुरुमा खाली थियो, पछि रुख रोपियो, त्यसैमाथि बिजुलीको बक्स थपियो, फल्चाहरू थपिए।”

ललितपुर महानगरले थापाथलीदेखि जावलाखेल सडकखण्ड र अरू भित्री सडकमा साइकल लेन तोकेको छ। ललितपुरका मेयर चिरिबाबु महर्जनले १४ मंसिर २०७६ मा ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन गर्दै भनेका थिए, “धुवाँधुलोका कारण हामी वाक्क भएका छौँ, इन्धन प्रयोग हुने सवारीसाधनले प्रदूषण फैलाइरहेका छन्, साइकल चलाउँदा प्रदूषणको चिन्ता भएन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ।”

काठमाडौँ महानगरको तुलनामा ललितपुरमा साइकल लेन व्यवस्थित देखिए पनि अन्य सवारीसाधनले पेल्न नछाडेको तीतो अनुभव महेश्वरी विष्टको छ।

नेपालमा बसाइँसराइ तथा सहरीकरण तीव्र गतिमा बढिरहेकाले स्थानीय तहहरूले दिगो सहरी यातायात प्रणाली लागु गर्नुपर्ने सहरी विकास अभियन्ता ढकालको बुझाइ छ। “सहरी सडक भन्नेबित्तिकै फुटपाथ, साइकल लेन र हरियाली व्यवस्थापनको कुरा सँगसँगै आउनुपर्छ, यसतर्फ हाम्रा नीतिनिर्माता र सडक डिजाइनरहरूको ध्यान जानुपर्छ,” उनी भन्छन्।

हिँडेरै सबै ठाउँ पुग्न नसकिने भएकाले सहरमा सबभन्दा राम्रो विकल्प साइकल नै हुने ढकालको ठहर छ। “तर, साइकलका लागि न बाटो छ, न साइकल चढ्नेको सम्मान। सार्वजनिक यातायात व्यवस्थापनमा पनि कसैको ध्यान पुगेको छैन,” उनी थप्छन्, “यसकारण सडकमा पैदलयात्री, साइकल र सार्वजनिक यातायातबीच तालमेल मिलाउनुपर्छ।”