काठमाडाैँ। गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ।
गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताएका छन्।
गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताएका छन्। गत अक्टोबर देखि युद्धविराम लागू भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन्।
इजरायलले युद्धविराम सुरु भएदेखि कम्तिमा ९३६ जनाको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।
युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका अन्तिम इजरायली बन्धकहरूको रिहाइ समावेश थियो।
युद्धविरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौँ देखि यो प्रक्रियाले प्रभावकारी गति लिन सकिरहेको छैन।
गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको बताएका छन्।
गाजामा हमासको सशस्त्र शाखाका पछिल्लो प्रमुख मोहम्मद ओदेह गत हप्ताका इजरायली आक्रमणमा मारिएक जनाइएको छ।