काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

एकल ‘बिडिङ’

फोहोर व्यवस्थापन नगरेपछि १० वर्षअघि महानगरले ठेकेदार टीकाराम दाहाललाई पक्राउ गरी उपस्थितिका लागि काटिएको थियो पत्र

२१ जेष्ठ २०८३
फोहोर व्यवस्थापनका लागि सफाइ कर्मचारीहरूले विराटनगर १६‚ दैरैयामा बनाएको डम्पिङ साइटमा खाडल खनेर फोहोर विसर्जन गर्छन्। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगर महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि आह्वान गरेको २० वर्षे दीर्घकालीन ठेक्का प्रक्रिया रद्द गरेको छ।

विवादित पृष्ठभूमि भएका व्यवसायी टीकाराम दाहाल अध्यक्ष रहेको कम्पनीको मात्र एकल बोलपत्र परेपछि महानगर कार्यपालिकाको बैठकले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि आह्वान गरेको २० वर्षे दीर्घकालीन ठेक्का प्रक्रिया रद्द गरेको सूचना।

महानगरले गत ६ चैतमा सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलमा फोहोर सङ्कलन, ढुवानी र विसर्जनका लागि बोलपत्र आह्वान गरेको थियो। जसमा ललितपुरस्थित नेप्सेम्याक सेवा प्रालिले मात्र ई-बिडिङमार्फत प्रस्ताव पेस गरेको थियो।

महानगरले ६ चैतमा सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलमा फोहोर संकलन, ढुवानी र विसर्जनका लागि बोलपत्र आह्वान गरेको पत्र।

उक्त कम्पनीका अध्यक्ष दाहाल यसअघि पनि विराटनगरकै फोहोर व्यवस्थापनमा लापरबाही गरेको र बक्यौता नतिरेको आरोपमा विवादित बनेका व्यक्ति हुन्।

विराटनगर महानगरपालिकाको कार्यालय।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले जेठ १३ गते नेप्सेम्याकलाई पत्र थमाउँदै सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ बमोजिम बोलपत्र अस्वीकृत भएको जानकारी दिएका छन्। पत्रमा कम्पनीको विगतको आचरण र बेरुजुलाई मुख्य कारण देखाइएको छ।

१० वर्षअघिको त्यो घटना
आजभन्दा १० वर्षअघि दाहाल अध्यक्ष रहेको ‘वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रालि एन्ड जेभी’ ले विराटनगरको फोहोर व्यवस्थापनको ठेक्का लिएको थियो। तर, सम्झौताअनुसार फोहोर नउठाएको र गैरजिम्मेवार बनेको भन्दै १७ माघ २०७३ मा तत्कालीन कार्यकारी अधिकृत दीपक कोइरालाले दाहाललाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेका थिए। (हेर्नुहोस् पत्र)

१० वर्षअघि टीकाराम दाहाल अध्यक्ष रहेको ‘वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रालि एन्ड जेभी’ ले विराटनगरको फोहोर व्यवस्थापनको ठेक्का लिएको थियो। तर सम्झौताअनुसार फोहोर नउठाएको र गैरजिम्मेवार बनेको भन्दै १७ माघ २०७३ मा तत्कालीन कार्यकारी अधिकृत दीपक कोइरालाले दाहाललाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई गरेको पत्राचार।

अहिलेको नेप्सेम्याक र विगतको वेस्ट म्यानेजमेन्ट दुवैको नेतृत्व दाहालले नै गरिरहेका छन्। विगतमा काम गर्दा उक्त समूहले महानगरलाई १२ लाख १५ हजार ४५० रुपैयाँ बेरुजु तिर्न बाँकी देखिएको छ। २०७३ वैशाखमा भएको सम्झौताअनुसार महानगरले ३२ कर्मचारी उपलब्ध गराउनुपर्नेमा ६ कर्मचारी पालिकामै हाजिर भए पनि उनीहरूको तलबबापतको रकम कम्पनीले असुल गरेको महानगरको दाबी छ।

विराटनगरबाट निस्किएको फोहोर।

महानगरको अडान र कम्पनीको दाबी
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले खराब रेकर्ड भएका व्यक्तिलाई पुनः सहरको जिम्मेवारी सुम्पिनु आत्मघाती हुने बताए। “यसअघि महानगरका ट्र्याक्टर र ट्राइसाइकलसमेत गायब पारिएका थिए, जसलाई पछि प्रहरी लगाएर फिर्ता ल्याइएको थियो,” कोइरालाले भने, “यस्तो ट्र्याक रेकर्ड भएको मान्छेलाई फेरि २० वर्षका लागि ठेक्का दिन सकिँदैन। चित्त नबुझे अदालत गए हुन्छ।”

यता नेप्सेम्याक सेवा प्रालिले भने महानगरको निर्णयलाई ‘नियोजित षड्यन्त्र’ को संज्ञा दिएको छ। कम्पनीका अध्यक्ष दाहालले एकल बोलपत्र पर्दैमा रद्द गर्न नमिल्ने र बेरुजुको विषयलाई बहाना बनाएर आफ्नो साख गिराउन खोजिएको आरोप लगाएका छन्। उच्च अदालत विराटनगरले ठेक्का प्रक्रिया नलम्ब्याउन आदेश दिइसकेको अवस्थामा कार्यपालिकाबाट ठेक्का रद्द गरिनु गलत भएको कम्पनीका सूचना अधिकारी लक्ष्मीप्रसाद घिमिरेले दाबी गरे।

प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार बोलपत्र बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेको र सफ्टवेयरमा प्राविधिक समस्या देखिएका कारण अन्य कम्पनीले सहभागिता जनाउन पाएनन्। “एउटा मात्र कम्पनी हुँदा वास्तविक प्रतिस्पर्धा हुँदैन,” उनले भने, “कानुनी र नैतिक रूपमा पुनः टेन्डर आह्वान गर्नु नै उपयुक्त देखिन्छ।” महानगरले नेप्सेम्याकलाई सात दिनभित्र बेरुजु रकम जम्मा गर्न अल्टिमेटम दिएको छ। अन्यथा धरौटीबाटै असुल गर्ने चेतावनीसमेत दिएको छ।

विराटनगरको फोहोर व्यवस्थपनको जिम्मा लिएको वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालको नाममा महानगरलाई १२ लाख १५ हजार ४५० रुपैयाँ बेरुजु तिर्न बाँकी रहेको पत्र।

हाल विराटनगरमा दैनिक करिब १०० टन फोहोर उत्पादन हुन्छ। अहिले तीनवटा छुट्टाछुट्टै निजी संस्थामार्फत फोहोर सङ्कलन भइरहेको छ। जसको म्याद आगामी कात्तिकमा सकिँदै छ। महानगरले आगामी दिनमा दिगो कार्ययोजनासहित नयाँ बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।

महानगरले ५ कात्तिक २०७८ देखि लागू हुने गरी पाँच वर्षका लागि तीनवटा निजी संस्थासँग सम्झौता गरेको छ। विराटनगरको उत्तरी क्षेत्र (वडा १, २, ४, ५ र १९) मा फोहोर संकलन र व्यवस्थापनको जिम्मा ‘नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ ले पाएको छ। यस सेवाबापत महानगरले उक्त संस्थालाई वार्षिक १० लाख ६६ हजार ६५६ रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

त्यस्तै सहरको मुटु मानिने मध्य क्षेत्र (वडा ६ देखि ११ सम्म) को जिम्मा ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ नामक संस्थाले लिएको छ। यो संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै महानगरसँग प्रतीकात्मक रूपमा मासिक मात्र एक रुपैयाँ लिएर सेवा दिइरहेको छ।

नगरक्षेत्रबाट निस्किएको फोहोर विसर्जन गर्ने स्थान विराटनगर १६‚ दरैयामा बनाएको डम्पिङ साइट।

दक्षिणी क्षेत्र (वडा १२ देखि १८ सम्म) को व्यवस्थापन ‘सगरमाथा मल्टिपल सर्भिस प्रालि’ले गर्दै आएको छ। भौगोलिक दूरी र फोहोरको चापलाई हेर्दै महानगरले यो संस्थालाई वार्षिक ३५ लाख ९९ हजार ९८८ रुपैयाँ भुक्तानी गर्दछ।

सामान्य ग्राहकका लागि सातामा दुईपटक र व्यावसायिक ग्राहकका लागि सातै दिन फोहोर संकलन गर्ने गरिएको महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालले बताए। “विराटनगरमा दैनिक करिब १०० टन फोहोर उत्पादन हुन्छ। यो सबै फोहोर विराटनगर १६‚ दरैयास्थित १० बिघामा रहेको डम्पिङ साइटमा विसर्जन गरिन्छ,” उनले भने।

तर यहाँ चुनौती अझै बाँकी छन्। हाल यो डम्पिङ साइटमा कुनै स्थायी संरचना छैन। वर्षायाममा दुर्गन्ध फैलने र वातावरणीय जोखिम बढ्ने समस्या छ। “त्यसैले महानगरले अहिले खाल्डो खनेर फोहोर पुर्ने प्रविधि अपनाइरहेको छ। आगामी दिनमा निजी साझेदार संस्थालाई २० वर्षको लिजमा दिएर महानगरले फोहोर व्यवस्थापनमा दिगो कार्ययोजनासहित अगाडि बढ्ने लक्ष्य राखेको छ,” उनले भने।

फोहोर विर्सजनका लागि विराटनगर १६‚ दरैयामा स्काभेटरले बनाएको खाडल।