काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। यसवर्षको ‘वातावरण पत्रकारिता पुरस्कार – २०२५’ नेपालन्युजकी विशेष संवाददाता विद्या राईलाई प्रदान गर्ने घोषणा भएको छ।

एक दशकदेखि पत्रकारितामा सक्रिय राईले वातावरण र दिगो विकासका सवालमा खोजमूलक समाचार लेखेर योगदान पुर्‍याएबापत नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले पुरस्कृत गर्ने घोषणा गरेको हो।

नेपालन्युजमा उनले वन, वातावरण, जलवायु, मानवअधिकार, सार्वजनिक शिक्षा र सामाजिक मुद्धामा अनुसन्धानात्मक रिपोर्टिङ गर्दै आएकी छन्। उनी नेवापसले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पुरस्कार प्राप्त गर्ने ३९ औं पत्रकार हुन्। शुक्रबार (५ जुनमा) विश्व वातावरण दिवसको अवसर पारेर उक्त घोषणा गरिएपनि नगद सहितको पुरस्कार भने नेवापसको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ।

सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा सञ्चारमाध्यममा प्रकाशित–प्रसारित भएका सामग्रीमध्येबाट छनौट गरी विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा/शैली र समावेशिताका आधारमा मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको नेवापसले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

नेवापसका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले मुल्यांकन गरेको थियो।

यस्तै अरु पाँच पत्रकारलाई ‘उत्कृष्ठ रिपोर्टिङ-२०२५’ प्रदान गर्ने निर्णय भएको छ। जसमा रातोपाटीका लागि धनगढीकी सविता बुढा, कान्तिपुर टिभीका लागि रुकुम पूर्वका महेश केसी, नेपाल समाचार पत्रका लागि सुर्खेतकी सिर्जना बुढाथोकी, उकालो डटकमका लागि म्याग्दीका घनश्याम खड्का र अन्नपुर्ण पोष्टका लागि धनकुटाका हरिबहादुर लम्जेल छन्।