काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लाहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ।

नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।

व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन्। यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ।

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ।

त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

नेपाली आँपको उत्पादन बजारमा पर्याप्त मात्रामा आउन थालेपछि कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा थप परिमाणमा आँप भित्रिने र बजार आँपले नै भरिने बताएका छन्।