चितवन। चितवनस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन्।
जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो।
उनले भने, ‘दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन्। समस्या दैनिक रूपमा बढेको छ।’
हाल कारागारमा ७१२ जना कैदी छन्। यसको क्षमता ६०० हो। यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ।
भाइरल ज्वरोबाट पीडित भएकाहरूलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए।