परिकार

लमजुङ, दोर्दी, श्रीमन्ज्याङको एउटा सानो ठाउँ लामा गाउँका केही मानिसले रातभर खटेर ३०० भन्दा बढी पाहुनालाई अतिथि सत्कारको अनुपम नमुना प्रस्तुत गर्दै आधुनिक समयको उत्कृष्ट भतेर खुवाए।

२३ जेष्ठ २०८३
तस्बिर : सुवास थापा
अ+
अ-

आँगनमा झुन्ड्याएको तान्द्रे कर्कलोले ‘अब चाहिँ गाउँ आइपुग्यो’ भनेर संकेत दिएको थियो। लमजुङको दोर्दी गाउँपालिका, श्रीमन्ज्याङको लक्ष्मी मावि अगाडिको दोकानको आँगन हो त्यो। श्रीमन्ज्याङको एउटा भागलाई ठ्याक्कै छोपिदिने भएकाले स्कुल भएको डाँडाको नाम ढोकेडाँडा हो। त्यहाँ पुगेको कारण चाहिँ अन्नपूर्ण आरोहण दिवस मनाउन हो।

३ जुन १९५० मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले पहिलो पटक ८,०९१ मिटरको अन्नपूर्ण हिमालको सफल आरोहण गरेर इतिहास बनाएका थिए। त्यसअघि आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको थिएन। नयाँ पदमार्गको पहिचान र प्रवर्द्धन गर्ने भनेर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले लमजुङको श्रीमन्ज्याङमा जेठ २० र २१ गते आयोजना गरेको अन्नपूर्ण आरोहण दिवसको पाहुना भएर पुगिएको हो त्यहाँ।

डोरीमा झुन्ड्याएको तान्द्रे कर्कलो। तस्बिर : राजेश घिमिरे

ढोकेडाँडाको स्कुलबाट पैदल लामा गाउँतिर जानुपर्ने थियो। तर, सबै पाहुना नआएकाले कुर्नैपर्ने भयो। अनि सुरु भयो– तान्द्रे कर्कलो चिन्तन। तान्द्रे कर्कलो हाम्रा पुर्खाको परम्परागत ज्ञान हो– हरिया तरकारी नपाउने बेलामा गर्जो टार्ने उपाय। ठाउँ र समुदायअनुसार तान्द्रे कर्कलालाई, कर्कलाको लासा, लाकान्नो वा लाकान्ना, लाते र चुल्ठी पनि भनिन्छ। चुल्ठी चाहिँ चिरेको कर्कलाको तान्द्रालाई महिलाको कपाल बाटे झैँ गरेर सुकाउने र भण्डार गर्ने भएर पनि हो। कर्कलाको डाँठलाई चिरेर मजाले घाममा सुकाउने चलन छ। यसबाट ढुसी आउन रोकिएर कर्कलो लामो समय सुरक्षित हुन्छ। राम्ररी सुकेपछि हावा नपस्ने गरी भाडामा राख्ने पनि चलन छ। पकाउनुअघि तान्द्रे कर्कलालाई मसिनोसँग काट्ने अनि तातोपानीमा भिजाएर पकाउने गरिन्छ। भिजाएको तान्द्रे कर्कलो हल्का भुटेर, भुटेको भट्ट (भटमास), उसिनेको आलु, काँक्रा, पोलेको गोलभेँडा, नुन, खुर्सानी, हरियो धनियाँ र कागती हालेर साँधेपछि बन्ने अचार पनि निकै लोकप्रिय छ।

तान्द्रे कर्कलाको तिहुन पनि गजबै लोकप्रिय छ। तान्द्रे कर्कलामा भुटेको भट्ट, आलुलगायत उपलब्ध तरकारीमा मरमसलासँगै भिजाएको चामल पिनेर बनाउने कलौ हालेर तिहुन बनाइन्छ गण्डकी प्रदेशका विभिन्न ठाउँमा। कतिले चाहिँ कलौको सट्टा चामल पखालेको चौलानी पनि हाल्छन्।

 बिहानको नास्ता। तस्बिर : राजेश घिमिरे

यिनै चिन्तन, स्कुलका शिक्षक तथा गाउँलेसँगको गफगाफपछि सबैजसो पाहुना आए र लामा गाउँतिर उकालो चढ्न थाले। उकालो लाग्दै गर्दा कसैले सोध्यो, ‘यो तामाङ लामाहरूको गाउँ हो?’ आवश्यक जानकारी दिइएको रहेनछ कि जस्तो पनि लाग्यो। श्रीमन्ज्याङको लामा गाउँ चाहिँ गुरुङ गाउँ हो, तमूहरूको थातथलोमध्ये एक। गुरुङका थरमध्येको एउटा लामा पनि हो र भिक्षुलाई लामा भन्ने चलन छ। सायद त्यसैसँग सम्बन्धित होला– लामा गाउँ। पन्चेबाजा टोलीले बाजा बजाउँदै पाहुनाहरूलाई लामा गाउँको मुख्य प्रवेशद्वारसम्म पुर्‍याए। अनि आमा समूहका सदस्यहरूले पोखरा, बेसीसहर र काठमाडौँबाट आएका सबै पाहुनालाई सेतो टीका र बोगनवेलिया र खुर्सानी फूल मिसिएको माला लगाइदिएर स्वागत गरे। अनि पालो आयो, भोकाएका पाहुनालाई खाजा खुवाउने पालो।

आमा समूहका सदस्यले स्टिलको थालमा पस्को खाजा दिनासाथ दंग परियो। थालमा सेल, खसीको मासु, स्थानीय सिमी र दालहरूको मिश्रण लेदोपेदो तरकारी र साथमा थियो अघि चिन्तन गरिएको तान्द्रे कर्कलामा भुटेको भट्टको अचार। धेरैले तान्द्रे कर्कलाको अचार भनेर चिन्दै चिनेनन्, सबैले गुन्द्रुक नै ठानेर खाए।

लामा गाउँको परम्परागत खाजा। तस्बिर : राजेश घिमिरे

खासमा कर्कलाको गुन्द्रुक चाहिँ अलि फरक किसिमले बनाइन्छ। कर्कलो र गाभा (पात)लाई राम्रोसँग सफा पानीले धोएपछि केही बेर घाम वा हावामा ओभानो हुन दिनुपर्छ। कर्कलाको डाँठको बाहिरी भागमा हुने पातलो रेसालाई हातले तानेर फाल्नुपर्छ। त्यसपछि कर्कलाका साना-साना डाँठहरूलाई गाभा (पात)को भित्रपट्टि राखेर बेरेर मझौला आकारको मुठो बनाउनुपर्छ। डाँठ र पातलाई सँगै राख्दा गुन्द्रुकमा अमिलो र मीठो स्वाद राम्रोसँग ‘मिक्स’ हुन्छ। अनि एउटा ठूलो भाँडोमा पानीलाई मजाले उम्लन दिने र अघि तयार पारिएका कर्कलाका मुठालाई सावधानीपूर्वक तातो पानीमा राख्ने। सुरुमा तल्लो भागलाई तीन मिनेट जति पाक्न दिने। त्यसपछि चिम्टा वा पनियोले ती मुठालाई अर्कातर्फ फर्काएर फेरि तीन मिनेट पकाउनुपर्छ। दुवैतर्फ गरी जम्मा ६ मिनेट जति बफाएपछि हल्का नरम हुन्छ। बफाएको कर्कलालाई पानीबाट निथार्ने र बाँकी पानी पनि निचोरेर फाल्नुपर्छ। त्यसपछि ती बाँधिएका कर्कलाका मुठालाई फेरि बिस्तारै-बिस्तारै हातले खोलेर सुकाउनका लागि सुतीको कपडा वा गुन्द्री फैलाउनुपर्छ। कडा घाममा लगातार दुईतीन दिन सुकाएपछि गुन्द्रुक कुरुमकुरुम हुने खालको बन्छ। त्यसपछि गुन्द्रुकलाई हावा नछिर्ने सिसा वा प्लास्टिकको बट्टामा राखेर महिनौँ भण्डारण गर्न सकिन्छ।

लामा गाउँको परम्परागत घर‍। तस्बिर : राजेश घिमिरे

लामा गाउँमा आमाहरूको मिहिनेत त मान्नैपर्छ। ३०० भन्दा बढी मानिसलाई चाहिने सेल पकाउन आमा समूहका सदस्यले कति दिन पो खट्नुपर्‍यो होला? सेलसँग आएको सिमीको लेदोपेदो तरकारी मजाले पाकेको थियो, मुखमा पग्लने वा बिलाउन हिसाबको। खसीको मासुको त बयान गरेर साध्य नै छैन। मजाले पाकेको हड्डी छुट्टिने गरी। मरमसलाको पनि गजबको संयोजन। भारतको हरियाणाको अम्बाला सहरमा निकै समय काम गरेका चित्रबहादुर गुरुङको नेतृत्वमा पकाइको खानामा प्रविधि आधुनिक थियो, तर स्वाद र सरसामग्री सबै परम्परागत नेपाली। सबैले मजाले खाए। केही चाहिँ कित्लीबाट बाँडिएको कालो चियाको चुस्कीमा रमाइरहेका थिए। तर, त्यहाँ माग अर्कैको बढेको थियो, जाँडको। लेकाली ठाउँ भए पनि जेठको गर्मीले हपहप थियो, मान्छे धेरै भएर गुम्सिएकाले पनि गर्मी अझ बढेको अनुभूति हुँदै थियो। प्लास्टिकका जगबाट जाँड बाँड्न नभ्याउने अवस्था आयो। अनि जाँड कित्लीमा बाँड्न थालियो, अझै नभ्याएपछि बाल्टीमा नै राखेर बाँडियो। रक्सी खानेलाई चाहिँ कोदाको रक्सी स्टिलका जगमा बाँडिएको थियो। जाँडरक्सीको खपत धेरै हुन थालेपछि आयोजकहरूले औपचारिक कार्यक्रम गर्न नै बाँकी छ भन्ने सम्झेछन् क्यारे, खानपिन कार्यक्रम नै बन्द गराए।

स्वागत गर्न आएका आमाहरू। तस्बिर : राजेश घिमिरे

अनि सुरु भयो, औपचारिक कार्यक्रम। आएका ‘ठूलाठालु’ पाहुनालाई मञ्चमा बोलाउनैपर्ने, तीभन्दा अलि कमका ‘ठूलाठालु’ लाई यथास्थानमा आसन ग्रहणको अनुरोध गर्नैपर्ने औपचारिकताको नेपाली संस्कार त देखाउनैपर्‍यो। अनि स्वागत भाषण, कार्यपत्र प्रस्तुतिलगायत अनेकन् काम भए। धेरै वक्ताले बोलेपछि बल्ल पालो आयो, सम्मानको कार्यक्रमको।२० जेठको त्यो रात पर्वतारोहणमा उल्लेख्य योगदान दिएका गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मनराज गुरुङलाई सम्मानित गरिएको थियो। उनीहरूलाई गण्डकी सरकारकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले सम्मान गरेकी हुन्।

मनराज गुरुङ, पूर्णिमा श्रेष्ठ र नरेन्द्र (नरेन) शाही (बायाँबाट क्रमश:)। तस्बिर : राजेश घिमिरे

पूर्णिमा श्रेष्ठ नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै असाधारण सफलता हासिल गर्ने महिला आरोहीमध्ये एक हुन्। गोरखाको आरुघाटमा जन्मिएकी पूर्णिमा पेसाले फोटो पत्रकार हुन्। सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेपछि उनले अन्नपूर्ण, धौलागिरि, मनासलु, कञ्चनजंघा, मकालु, ल्होत्से र केटुलगायत आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन्। पूर्णिमाले सन् २०२४ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा १३ दिनभित्र तीन पटक आरोहण गर्दै विश्व इतिहासमा नयाँ कीर्तिमान कायम गरिन्। उनी एकै आरोहण सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला बनिन्। यस उपलब्धिका लागि उनको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ।

तस्बिर : राजेश घिमिरे

सबैका बिच नरेन भनेर चिनिने नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो दुई दशकदेखि अन्तर्राष्ट्रिय स्तरका माउन्टेन गाइड, प्रशिक्षक र कुशल उद्धारकर्ताका रूपमा स्थापित छन्। नरेनले सगरमाथाको पाँच पटक सफल आरोहण गरेका छन्। उनले चीन र नेपालमा विभिन्न माउन्टेन गाइड कोर्समा ‘एजुकेसन चिफ’ र ‘अब्जर्भर’ का रूपमा रहेर नयाँ पर्वतारोहीलाई समेत प्रशिक्षण दिइरहेका छन्।

सम्मानित अर्का व्यक्तित्व नेपाली पर्वतारोहण र साहसिक पर्यटनको क्षेत्रमा ‘बौद्धिक आरोही’ को पहिचान बनाएका छन्। अन्तर्राष्ट्रिय माउन्टेन गाइडका रूपमा ख्याति पाएका मनराजले शंकरदेव क्याम्पसबाट स्नातकोत्तरसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध धर्म र हिमाली अध्ययनमा स्नातकोत्तर गरेका छन्। अन्तर्राष्ट्रिय स्तरका माउन्टेन रेस्क्यु तथा नेभिगेसन प्रशिक्षकका रूपमा प्रसिद्ध मनराज पर्यटन, साहसिक खेल र हिमाल आरोहणको औपचारिक शिक्षा ऐच्छिक विषयको रूपमा माध्यमिक तहदेखि नै बालबालिकालाई पढाउनुपर्छ भनेर वकालत गरिरहेका छन्।

सम्मान, औपचारिक भाषण र मायाको चिनो बाँड्दाबाँड्दै रातको ११ बजिसकेको थियो। बल्ल रात्रिभोजको पालो आयो। निहुरोको तरकारी, भेडाको झोल मासु र भातसहित हरिया तरकारीको त्यो भतेर तयार गर्न पनि स्थानीय बासिन्दालाई निकै मिहिनेत परेको थियो। खानेकुरा सबै उम्दा थियो। भेडाको मासुको तिक्खर झोलले सुनमा सुगन्ध थपेको थियो। पछि हिसाब गर्दा थाहा भयो, ३१२ जनाले खाना खाएका रहेछन्। त्यो सानो गाउँमा त्यति धेरै पाहुनालाई सुताउनु पनि कम चुनौतीपूर्ण थिएन। अतिथि व्यवस्थापन खेलाँची होइन, त्यसको पूर्वतयारी र समयको राम्रो व्यवस्थापन गरिएको भए कार्यक्रम अझ चुस्त हुने थियो भन्नेहरू धेरै थिए।

तस्बिर : राजेश घिमिरे

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार लामा गाउँको म्हाँजा नासा सामुदायिक होमस्टे तुलनात्मक रूपमा नयाँ होमस्टे हो। अहिले सात घरमा होमस्टे सञ्चालन भएको छ र उनीहरूलाई अझै धेरै तालिमको आवश्यकता छ। उनी भन्छन्, ‘हामीले यहाँ तीन वटा पदमार्ग पहिचान गरेका छौँ। नौथर सेराबाट श्रीमन्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने तीन दिने पदमार्ग रहेको पहिलो हो। त्यस्तै, लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठ दिने पदमार्ग पनि पहिचान गरिएको छ। ती सबै ठाउँमा पूर्वाधार र होमस्टेका लागि काम हुन जरुरी छ।’

उनका अनुसार गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दूधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्गसमेत पहिचान गरिएको छ। हिमाल-हिमालचुली ग्रेट लेक सर्किटका नाममा यस पदमार्गको प्रवर्द्धन गरिरहेको गाउँपालिका अध्यक्ष अधिकारी बताउँछन्। उनी भन्छन्, ‘लामा तथा छोटा रुटका यी पदमार्गको प्रवर्द्धन गर्न सके प्रकृतिको नजिक हुन चाहने पदयात्रीलाई लोभ्याउन सकिन्छ।’

लामा गाउँमा नै जन्मेहुर्केर पोखरामा पर्यटन व्यवसाय सञ्चालन गर्न निकै संघर्ष गरे जितु गुरुङले। त्यस्तो दुःख नयाँ पुस्ताले नपाओस् भनेर आफ्नो गाउँठाउँमा पर्यटन प्रवर्द्धन गर्न लागिपरेका छन्। जितु भन्छन्, ‘दोर्दी क्षेत्रमा पदयात्रा पर्यटनका लागि धेरै सम्भावना छ, तर पर्याप्त प्रचारप्रसार नहुँदा ओझेल परेको छ। यहाँ पर्यटन प्रवर्द्धन भए स्थानीय संस्कृति संरक्षण, उत्पादनको बजारीकरण र रोजगारी सिर्जनासमेत हुने थियो।’

पाहुनाहरूलाई मध्यरातमा खाना बाँडिँदै। तस्बिर : राजेश घिमिरे

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार गुणस्तरीय पर्यटक आकर्षित गर्न नयाँ र क्याम्पिङमा आधारित पदमार्गको विकास आवश्यक छ। ‘हामीलाई अब वैकल्पिक पदयात्रा गन्तव्य आवश्यक छ,’ आचार्य भन्छन्, ‘क्याम्पिङ ट्रेकका लागि उपयुक्त नयाँ मार्ग विकास गर्न सके उच्चस्तरीय पर्यटक भित्र्याउन सकिन्छ।’

२१ जेठ बिहानको सुरुआत चाहिँ उसिनेको अन्डा, चनाको तरकारी र हरियो पुदिना हालेको कालो चियाबाट भयो। पाहुनाहरूलाई गाउँ घुम्न र गुम्बा हेर्न व्यस्त बनाएर लामा गाउँका मानिस चाहिँ दिउँसोको खाना पकाउन व्यस्त भए। आमा समूहका सदस्यहरू तरकारी केलाउन व्यस्त थिए, कोही भाडा माझ्दै थिए, भान्छे पुरुष चाहिँ धमाधम खसीको मासु र भात पकाउँदै थिए। पाक्दै गरेको भात छोडेर काठमाडौँ फर्कनैपर्ने भएकाले थकथक गर्दै थियौँ। हाम्रा आतिथेय चाहिँ बिहान ४ बजे सुतेर बिहान ६ बजे उठेर फेरि व्यस्त भएका थिए। उनीहरू कसैको पनि अनुहारमा थकान देखिएको थिएन। उनीहरू पाहुनाको सत्कारका लागि उत्तिकै  सक्रिय भएका थिए। पाहुनालाई देवता मान्दै सेवा गर्ने नेपाली अतिथि सत्कारको उत्कृष्ट नमुना यही नै त हो।