दर्शन
रामायणमा ‘चोर’ भन्दै निन्दा गरिएका बुद्धलाई छैटौँ शताब्दीको पुराणमार्फत विष्णुकै अवतार बनाएर बौद्ध दर्शनको जग भत्काउने प्रपञ्च गरियो।
हिजोआज विष्णु मतवादी हिन्दु अर्थात् वैष्णवीहरू शाक्यमुनि गौतम बुद्ध (इपू ५६३–४८३)लाई विष्णुको नवौँ अवतार मान्छन्। र, बुद्ध हामी पनि मान्छौँ, हाम्रा पनि हुन् भन्ने दलिल पेस गर्दछन्। विष्णुको नवौँ अवतार भनेर चित्र वा मूर्ति राख्दा नवौँ क्रममा बुद्धलाई राख्दछन्। यसअनुसार बौद्ध धर्मदर्शन कुनै छुट्टै नभएर हिन्दु धर्मकै एउटा शाखा वा पन्थ भनेर पनि मान्दछन्। तर, केही सय वर्षअघिसम्म पनि वैष्णवीहरूको मान्यता यस्तो थिएन। अर्थात् वैष्णवी मतमा विष्णुको अवतार भन्ने कुराको अवधारणा नै विकास भएको थिएन। बुद्धलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक वा प्रतिस्पर्धीका रूपमा थियो।
बुद्धलाई विष्णुको अवतार मान्ने मान्यतामा बौद्धहरू विष्णुमतवादीहरूसँग सहमत छैनन्। त्यस मान्यताको विरोध पनि गर्दछन्। बौद्धहरूको विरोध तथा तर्कमा विष्णुमतवादीहरू खासै बहस गर्दैनन् तर आफूलाई सच्याउनुपर्ने महसुस पनि गर्दैनन्। बरु धार्मिक सहिष्णुता वा सद्भावको कुरा ल्याएर जनमानसलाई अलमल्याइरहेका हुन्छन्।
बुद्धका सम्बन्धमा विष्णुमतवादीहरूले गर्ने कुरा गौतम बुद्धको वचनभन्दा बिल्कुलै फरक हुन्छन्। विष्णु मतवादी हिन्दूहरू आत्माको अमरताको कुरा गर्दछन्, तर गौतम बुद्ध आत्माको अस्तित्वलाई मान्दैनन्। आत्मा र परमात्माको कुरा विष्णुमतवादीका लागि अहम् हुन्छ, तर गौतम बुद्धको उपदेशमा यी कुराहरूको चिन्तन नै हुँदैन।
दर्शनको दुनियाँमा गौतम बुद्धको मौलिक देन प्रतीत्य समुत्पाद हो, यसलाई कार्यकारणको सिद्धान्त पनि भनिन्छ। बुद्धकै शब्दमा भन्नुपर्दा जसले प्रतीत्य समुत्पादलाई बुझ्छ उसले बुद्धलाई बुझ्छ वा जसले बुद्धलाई बुझ्छ उसले प्रतीत्य समुत्पादलाई बुझ्छ। प्रतीत्य समुत्पादकै आधारमा शून्यवादको प्रवर्तन आचार्य नागार्जुनबाट भयो। प्रतीत्य समुत्पाद वा शून्यवाद यस्तो दार्शनिक दृष्टिकोण हो, जसले वेद, उपनिषद्, पुराणलगायत सम्पूर्ण हिन्दु दृष्टिकोणको निर्मम ढंगले खण्डन गर्दछ। यस अवस्थामा उनै बुद्धलाई विष्णुको नवौँ अवतार मान्नुसँग र्याङठ्याङै मिल्दैन। त्यसैले यसलाई ऐतिहासिक तथा दार्शनिक तवरबाट चर्चा गर्नु जरुरी छ।
बुद्ध र उनको धर्मदर्शन
ऐतिहासिक तथा पुरातात्त्विक अध्ययनबाट प्रमाणित कुरा हो, इपू छैटौँ शताब्दीताका सोह्र महाजनपदका साथै अनेकौँ जनपद थिए। त्यसैमध्ये एक थियो– हाल लुम्बिनी तथा कपिलवस्तु क्षेत्रमा पर्ने शाक्य जनपद। गणतन्त्रात्मक शासन व्यवस्था भएकाले उक्त जनपदलाई शाक्य गणराज्य पनि भनिन्छ।
त्यतिबेला अन्य गणराज्यहरूमा जस्तै शाक्य गणराज्यमा पनि गणप्रमुखलाई राजा वा महाराज भन्ने चलन थियो। शुद्धोदन निर्वाचित गणप्रमुख थिए र यसअनुसार उनलाई महाराज भनेर सम्बोधन गरिन्थ्यो। महाराज सम्बोधनका कारण राजतन्त्रात्मक राज्य व्यवस्था भएको र शुद्धोदनको शेषपछि राजगद्दीको उत्तराधिकारी उनकै पुत्र भएको जस्तो व्याख्या पछिल्ला दिनमा भएको पाइन्छ। तर, यस्तो बुझाइ इतिहाससँग मिल्दैन।
शाक्य गणराज्यको राजधानी कपिलवस्तुमा शुद्धोदन र मायादेवीलाई इपू ५६३ को वैशाख पूर्णिमाका दिन पुत्रलाभ भयो। उनै पुत्र २९ वर्षको उमेरमा गृहत्याग गरी आध्यात्मिक साधनामा लागे भने ६ वर्षपछि बुद्धत्व प्राप्त गरी गौतम बुद्धको नामबाट प्रख्यात भए।
त्यसबेला आध्यात्मिक क्षेत्रमा श्रमण र ब्राह्मण दुई परम्परा थियो। गौतम बुद्धको पृष्ठभूमि श्रमण परम्पराको थियो, बुद्धत्व प्राप्तिपछि उनी महाश्रमण भनेर कहलिए। श्रमण र ब्राह्मण दुई परम्पराबीच जीवन र जगत्लाई हेर्ने दृष्टिकोण फरक थियो। दुईबीच मूल्य र मान्यताहरू पनि मिल्दैनथ्यो। यी दुई परम्पराबीच दार्शनिक स्तरमा मात्रै नभएर सामाजिक स्तरमा पनि द्वन्द्व हुन्थ्यो।
गौतम बुद्धले आफ्नो मतवाद थोरै समयमा व्यापक रूपमा फैलाए, जुन ब्राह्मण मतवादभन्दा फरक मात्रै थिएन, चुनौती नै दिने खालको थियो। ब्राह्मण परम्परा शाश्वतवादी थियो भने बुद्धको शिक्षा क्षणिकवादी। वैदिक समाज ब्राह्मण, क्षेत्र, वैश्य र शूद्र गरी प्रमुख रूपमा चार वर्णमा विभाजित थियो, तर बुद्धले त्यसलाई कुनै भाउ दिएनन्, बरु त्यस मान्यताको अनौचित्यता प्रस्ट पार्दै आफ्नो संघमा सबैलाई समान अवसर दिए।
बुद्धको काम सामाजिक स्तरमा क्रान्तिकारी त थियो नै, दार्शनिक धरातलमा पनि उथलपुथल नै ल्याउने खालको भयो। जसले प्रतिभाशाली ब्राह्मण विद्वान्हरूलाई पनि आकृष्ट गरी संघमा सम्मिलित गरायो। यसबाट तत्कालीन ब्राह्मण समाज बुद्धसँग रुष्ट बन्यो र अवरोध सिर्जना गर्नतिर लाग्यो, गर्यो पनि। तर, त्यसको नतिजा उल्टो भयो र बुद्धको संघ ‘दिन दुगुना, रात चौगुना’ हुँदै गयो। नकारात्मक दृष्टिकोण राख्ने ब्राह्मणहरूले जस्तोसुकै छलकपट गरे पनि बुद्ध र बुद्धको शिक्षा त्यस समयमा मध्य भारत र वरपर मात्रै फैलिएको थियो भने अहिले विश्वभर नै फैलिएको छ।
बौद्ध धर्मावलम्बीहरू बुद्धलाई आफ्नो शास्ता मान्छन्। एक बौद्धका लागि बुद्ध कुनै देवता वा परमसत्ता वा परमेश्वर होइनन्; राग, द्वेष, मोह तथा अन्य सबै तृष्णा क्षय गरेर जन्म र मृत्युको जञ्जालबाट पूर्ण रूपमा मुक्त भई आभास्वर चित्त प्राप्त गरिसकेका विशिष्ट हुन्।
बुद्ध र बुद्धहरूलाई भगवान भनिने हो। यसको अर्थ, बुद्धलाई कसैको अवतार वा रूप मानिँदैन। तर, विष्णुमतवादीहरू बुद्धलाई विष्णुको नवौँ अवतार मान्छन्, यसको अर्थ विष्णुकै अर्को रूप मान्नु हो। बुद्धलाई कसैको अवतार मान्नु वा अवतारवादलाई स्वीकार गर्नु बुद्धत्वलाई नमान्नु हो। बुद्धत्व प्राप्त गर्नुको अर्थ हो- जन्म र मृत्युको कारणलाई क्षय गरिसकेको, अब आइन्दा पुनर्जन्म नहुने भइसकेको।
अवतारको कुराले बुद्धत्वलाई नकार्छ। बुद्धले पनि बुद्धत्व प्राप्त गरिनसकेको वा निर्वाण लाभ नगरेको जनाउँछ। बौद्धहरूका लागि यो मान्य कुरा होइन।
बुद्ध विष्णुको नवौँ अवतार भन्ने मान्यताले व्यक्तिविशेषको नामवाचक शब्दका रूपमा बुद्धलाई प्रयोग गरेको छ। तर, बुद्ध व्यक्तिविशेषको नाम नभएर जसले बुद्धत्व प्राप्त गर्ने हुन्, तिनलाई गरिने सम्बोधन पदवी वा विशेषण हो। बौद्ध मतअनुसार गौतम बुद्धभन्दा अघि पनि थुप्रैले बुद्धत्व प्राप्त गरी बुद्ध (अतीतका बुद्धहरू) बनिसकेका छन् भने आउँदा दिनमा पनि बुद्ध (भविष्यका बुद्धहरू) बन्नेहरू हुन्छन्। दीपंकर नामका बुद्धभन्दा अघिका तीन र त्यसपछि गणना गर्ने हो भने गौतम बुद्धको नाम २८औँमा पर्दछ। गौतम बुद्धकै अनुसार अतीतका बुद्धहरूको संख्या योभन्दा बढी हुन्छ। यसअनुसार विष्णुको नवौँ अवतारको धारणाले स्वतः पल्टा खान्छ। बुद्ध हुनुभन्दा अघिको अवस्थामै रहेका बोधिसत्त्वहरूको पुनर्जन्म हुन्छ। तर, त्यसलाई अवतार भनिँदैन, पुनर्जन्म मात्रै भन्ने चलन छ। समग्रमा, बुद्ध र बौद्ध धर्मदर्शनअनुसार बुद्धलाई विष्णुको नवौँ अवतार मान्नु दार्शनिक रूपमा दिवालिया हुनु हो। यही भएर बौद्धहरू बुद्धलाई विष्णुको अवतार भनेपछि त्यसको खण्डन गर्छन्।
नवौँ अवतारको अवधारणा
हिन्दु धर्मावलम्बीहरूको अत्यन्तै लोकप्रिय र चर्चित महाकाव्य रामायणमा बुद्धको उल्लेख छ। यहाँ बुद्धको तात्पर्य इपू ५६३ मा जन्मिएका गौतम बुद्ध हुन्। रामायणको घटना त्रेतायुगमा भएको मानिन्छ तर त्रेतायुगलाई कालगणनामा कहाँ राख्ने भन्ने समस्या छ। बुद्धको उल्लेख भएबाट रामायणको रचना बुद्धको महापरिनिर्वाणपछि कुनै समयमा भएको स्पष्ट हुन्छ। थप स्पष्ट के हुन्छ भने, रामायणको रचना हुँदासम्म बुद्धलाई विष्णुको अवतार भनिएको थिएन। अझ रामायणमा त बुद्धलाई चोर भनेर लाञ्छना लगाइएको छ र चोरहरूलाई जस्तै दण्ड दिनुपर्ने भनिएको छ।
बुद्ध र उनको शिक्षालाई रोक्न अनेकौँ प्रपञ्च रच्ने क्रममा रामायणमा चोर नै भनिए पनि त्यसको कुनै असर नपरेपछि अन्ततः विष्णुको नवौँ अवतारको अवधारणा विकास गरिएको देखिन्छ। तर, यस अवधारणामा बुद्ध र बुद्धको शिक्षालाई सर्लक्क ग्रहण नगरी चतुर्याइँ वा धुर्त्याइँ मात्र गरिएको देखिन्छ। अझ भनूँ, अवतारवादको प्रयोग बुद्धलाई नवौँ अवतारका रूपमा प्रस्तुत गर्न मात्रै भएको देखिन्छ।
विष्णुधर्मोत्तर पुराणमा सर्वप्रथम नवौँ अवतार आएको छ, जसको रचनाकाल इस्वीको छैटौँ-सातौँ शताब्दी हो। त्यसअघिका कुनै पनि हिन्दु ग्रन्थमा आठौँ, सातौँ, छैटौँ, पाँचौँ अवतारको सन्दर्भ आउँदैन। सिधै बुद्धपछि कल्की अवतारको चर्चा गरिएको छ।
विष्णुधर्मोत्तर पुराणअनुसार धर्ममा विचलन आएपछि आवश्यकताअनुसार विष्णुले विभिन्न रूप लिएर पृथ्वीमा अवतरण गर्दछन् र धर्मको उद्धार गरेर फर्कन्छन्। यसअनुसार वेदबाट राक्षसहरूलाई टाढा राख्न र दृष्टिभ्रम पैदा गर्नुपर्ने भएकाले विष्णुले मोहमायाको रूपधारण गर्नु पर्यो। त्यसै क्रममा विष्णु बुद्ध भई पृथ्वीमा अवतरण भए। वेदको कुराबाट टाढा राख्नका लागि वेदमा नभएको कुरा सुनाएर मोहजालमा फसाउने काम बुद्धबाट भएको थियो। यसैले, विष्णुकै अवतार भएकाले बुद्धलाई मान्नू, भगवान् पनि भन्नू, नवौँ अवतार पनि भन्नू, तर पूजा नगर्नू, उनका कुरालाई पनि ग्रहण नगर्नू भनिएकाले हिन्दूहरू उनको पूजा तथा उपदेशका सन्दर्भमा बिच्किने गर्दछन्। हिन्दुहरू बुद्ध र बौद्ध धर्मदर्शनका सवालमा विरोधी वा उदासीन हुनुको कारण यही हो।
तुलनात्मक अध्ययन
सुरुमा नै उल्लेख गरिएको छ– केही हिन्दूहरू गौतम बुद्धलाई विष्णुको नवौँ अवतार मान्छन्, तर केही सय वर्षअघिसम्म बुद्धप्रति यस्तो दृष्टिकोण थिएन। उनीहरू बुद्ध र बौद्ध धर्मदर्शनप्रति पूर्णतः नकारात्मक दृष्टिकोण नै राख्थे। अझ, बुद्ध र बुद्धको शिक्षाका सम्बन्धमा अन्टसन्ट कुरा नै लेखेको पाइन्छ। गौतम बुद्धको जन्म लुम्बिनी वनमा इपू ५६३ वैशाख पूर्णिमाका दिन भएको कुरा त मतैक्य छैन नै, विष्णुधर्मोत्तर पुराणले अन्य विवरण पनि अर्कै दिन्छ। पुराणमा वर्णित बुद्धको बाबुको नाम शुद्धोदन नै छ, तर शुद्धोदनलाई मानव नभएर राक्षसका रूपमा नकारात्मक अर्थमा प्रस्तुत गरिएको छ। त्यसअनुसार बुद्धको जन्म कीकट देशमा भएको हो। जन्मस्थल लुम्बिनी नभई कीकट भनेर उल्लेख गर्नुलाई पनि चतुर्याइँ वा धुर्त्याइँ भन्न सकिन्छ। कीकट कुनै ठाउँविशेष वा राज्य नभएर केही राज्यलाई पनि समेट्ने एउटा क्षेत्र विशेष हो। हिजोआज हिन्दु सन्दर्भमा सिंगो भारत तथा वरिपरिका केही भूभागलाई आर्यावर्त भन्ने चलन छ। त्यस भाष्यअनुसार आर्यावर्त त्यही हो, जहाँ हिन्दु धर्मको परिपालन शुद्ध रूपमा हुन्छ। आर्यावर्त विस्तृत भूभागमा फैलिएको पनि भन्ने गरिन्छ। तर, वास्तविकता के हो भने, केही हिन्दुहरूले दाबी गरिरहेको आर्यावर्तको विस्तार यति विस्तृत भूक्षेत्रमा कहिल्यै पनि भएन। उनीहरूले एउटा भूक्षेत्रलाई प्रत्यन्त प्रदेश भन्ने गरेका छन्, जहाँ उनीहरूको वर्चस्व कमजोर मात्रै थिएन, अस्वीकार्य नै थिए। तसर्थ त्यस क्षेत्रमा नजानू, जानै परे बास नबस्नू र बास बस्नैपर्ने अवस्थामा पनि फर्केपछि चोख्याउनू भन्ने आदेश दिइएको पाइन्छ। त्यो क्षेत्र भनेको कीकटलगायत भूक्षेत्र नै हो।
हामीलाई थाहा छ, कपिलवस्तुबाट महाभिनिष्क्रमण गरेर बुद्ध सरासर मगधको राजधानी राजगीरतिर गएका थिए। ध्यान गर्न कपिलवस्तुमा जंगल नभएर मगधतर्फ गएका होइनन्, बरु आध्यात्मिक विषयमा छलफल तथा वादविवाद गर्न मगध तथा वरपरका अन्य क्षेत्रहरू उपयुक्त भएर हो। मगधको नैरन्जना नदी किनारमा उनले बुद्धत्व लाभ गरेका थिए भने उनको शिक्षाले व्यापकता पाएको राजगीरबाट नै हो। सम्भवतः यही द्वेष राखेर बुद्धको जन्मस्थल नै कीकट भनिएको हुनुपर्छ।
निष्कर्ष
कुनै दुई मतवाद हुनु, दर्शनशास्त्रबीच वादविवाद चल्नु वा पक्षविपक्ष हुनु स्वाभाविक मात्रै होइन, आवश्यक पनि छ। पक्ष र विपक्षविना दुई मतवाद नै हुँदैन, एउटै हुन्छ वा एकअर्कामा विलय हुन्छ। वैदिक मूल्यमान्यता गौतम बुद्धभन्दा पुरानो भएकोमा मतैक्य छैन र उक्त मूल्यमान्यतासँग बुद्धको सहमति थिएन। वैदिकहरूका लागि बुद्ध प्रतिस्पर्धी रहेको कुरा बौद्ध साहित्यबाट पुष्टि हुन्छ भने पछि अनेकौँ बौद्ध आचार्यहरूले यसलाई निरन्तरता दिएको बौद्ध तथा हिन्दू साहित्यबाट जानिन्छ। समयको उतारचढावसँगै केही सय वर्ष भारतीय भूमिमा बुद्ध र बौद्ध विषयवस्तु ठ्याम्मै हराए। अकबरको दरबारमा विभिन्न धर्मसम्प्रदायको सम्मेलन हुँदा त्यहाँ बौद्ध धर्मदर्शनको तर्फबाट कोही उपस्थित नहुनु र यसबारे कुनै चर्चा पनि नहुनुले यो कुराको पुष्टि गर्दछ। भारतमा बौद्ध धर्मको पुनरुत्थान त ब्रिटिस साम्राज्यको देन हो।