२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।

काठमाडौँमा शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन गर्दै उनले रोजगारी नपाएर मानिसहरू संसारमा भौँतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमै रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयातकेन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे। देशको अर्थतन्त्रको विस्तार र राजस्वमा वृद्धिका लागि सिंगो उद्योग व्यवसाय पनि फस्टाउनुपर्ने उनको भनाइ छ।

उनले देशको उद्योग धन्दाहरू फस्टाउन सके नागरिक आर्थिक रूपमा सबल हुने र क्रयशक्ति बढ्ने धारणा राखे।