कठमाडौँ। रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ तथा ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय पुरस्कार’ पाउने व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ।
प्रतिष्ठानले गठन गरेको पुरस्कार छनोट सिफारिस समितिको सिफारिका आधारमा सन् २०२५ का लागि ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्राध्यापक सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरिएका हो।
जीवनको ५० वर्ष नेपालमा गुणस्तरीय प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षाको विकास तथा प्रयोगमा पुर्याएको योगदानको कदरस्वरूप प्राध्यापक शर्मा र राष्ट्रको दिगो विकासमा युवा वैज्ञानिक तथा नवप्रवर्तकलाई अभिप्रेरित गर्ने साझा मञ्चका रुपमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, प्रतिष्ठानले ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ बागवानीविज्ञ चुटराज गुरुङ र एग्रोमनाङ प्रालिलाई दिने निर्णय गरेको छ।
प्रतिष्ठानका अनुसार बागवानी क्षेत्रमा अध्ययन-अनुसन्धान गरी मुलुकको भौगोलिक अवस्थिति र हावापानी सुहाउँदो फलफूल तथा सोका लागि जनशक्ति विकासमा पुर्याएको योगदानका लागि गुरुङ र नेपालमा पहिलो पटक उच्च घनत्वको स्याउ उत्पादनमा अग्रणी कृषकको भूमिका निर्वाह गर्ने एग्रोमनाङ प्रालिलाई संयुक्त रूपमा ‘ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ दिने निर्णय गरिएको हो।
३० जेठ २०८३ मा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्मानित व्यक्ति तथा संस्थालाई काठमाडौँमा एक समारोहबीच पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ।
स्व. श्रीप्रसाद ओलीले एक करोड रुपैयाँको अक्षयकोषबाट २०६७ सालमा झापामा स्थापित यस रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’, ‘गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’, ‘अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार’ र ‘देवी ओली स्मृति बाल पुरस्कार’ को शीर्षकमा विधागत पक्ष र क्षेत्रमा उल्लेख्य र अनुकरणीय कार्य गर्ने व्यक्ति एवं संस्थालाई हौसला दिन हरेक वर्ष एकल वा संयुक्त रूपमा एक लाख ११ हजार १११ रुपैयाँ राशिको सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको छ।
२०७८ सालदेखि प्रतिष्ठानले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको प्रतिष्ठा बढाउन योगदान गरेका व्यक्ति वा संस्थाहरूको कार्यलाई समेत कदर गर्ने उद्देश्यका साथ प्रत्येक दुई वर्षमा एकल वा संयुक्त रूपमा पाँच लाख रुपैयाँ राशिको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ पनि प्रदान गर्दै आएको छ।