काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

२४ जेष्ठ २०८३
अ+
अ-

रोयटर्स। अमेरिकी सरकारले इरानद्वारा गराइएको क्षतिको पुनर्निर्माण तथा मर्मतका लागि इरानी सम्पत्ति प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालेको छ।

इरानले कुवेत र बहराइनमाथि थप ड्रोन तथा मिसाइल आक्रमण गरेपछि यस्तो तयारी अघि बढाइएको हो।

स्रोतका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गल्फ राष्ट्रहरूमा इरानका कारण भएको क्षतिको लागत मूल्यांकन गर्न निर्देशन दिएका छन्। भविष्यमा हुने क्षतिपूर्ति तथा पुनर्निर्माणमा पनि इरानी सम्पत्ति प्रयोग गर्ने विकल्पबारे अमेरिका विचाररत रहेको बताइएको छ।

यो खुलासा इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसेन रेजाईले युद्ध अन्त्यका लागि अमेरिकाले रोक्का गरेका २४ अर्ब डलर बराबरका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने बताएका एक दिनपछि आएको हो।

शनिबार अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यस्थित इरानी तटीय रडार केन्द्रमा आक्रमण गरेको जनाएको छ। इरानले समुद्री यातायातलाई लक्षित गर्दै प्रक्षेपण गरेका ड्रोन खसालिएपछि ती आक्रमण गरिएको अमेरिकी दाबी छ।

इरानको रिभोलुसनरी गार्डले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि प्रतिआक्रमण गरेको जनाएको छ। कुवेती सेनाका अनुसार आवासीय क्षेत्रमाथिबाट गुज्रिएका सात मिसाइल रोकिएका छन्। बहराइनमा साइरन बजाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

अमेरिका र इरानबीच युद्ध रोक्ने अन्तरिम सम्झौताका लागि अप्रत्यक्ष वार्ता जारी रहे पनि दुवै पक्षबीच हुने सैन्य झडपले शान्ति प्रयास थप जटिल बनेको छ।