काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

प्रहरी संगठन

प्रहरी महानिरीक्षक दानबहादुर कार्की हास्यव्यंग्यात्मक कार्यक्रममा सहभागी हुँदा संगठनको प्राथमिकतामा प्रश्न

२६ जेष्ठ २०८३
प्रहरी महानिरीक्षक दानबहादुर कार्की। तस्बिर स्रोत : कमेडी नाइट विथ च्याम्पियन्सको फेसबुक पेज
अ+
अ-

नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा देखिएका छन्। विशाल भण्डारी, दीपाश्री निरौलालगायतले सञ्चालन गर्ने कार्यक्रमको ६०औँ एपिसोडमा कार्की अतिथिका रूपमा पुग्दा दर्शकदीर्घामा बाक्लै संख्यामा बर्दीधारी प्रहरी जवानहरू बसेको देखिन्छ।

करिब आठ मिनेटको ट्रेलर आइतबार (२४ जेठ) ओएसआर रियालिटी नामक युट्युब च्यानलमा सार्वजनिक भएको उक्त एपिसोड आज (मंगलबार) बेलुकी हिमालय टीभीमा प्रसारण हुँदै छ। नेपाल प्रहरीलाई समर्पण गरिएको भनिएको कार्यक्रममा ठाउँ ठाउँमा प्रहरी संगठन र प्रहरी कर्मचारीलाई नै हाँसोको पात्र बनाइनुका साथै निरीह रूपमा प्रस्तुत गरिएको छ।

यो रिपोर्ट तयार पार्दासम्म युट्युबमा उक्त ट्रेलरको भिडिओ तीन लाखभन्दा बढीले हेरिसकेका छन्। ४०० भन्दा बढी कमेन्ट गरिएका छन्। अधिकांश कमेन्ट सकारात्मक लेखिएका छन्।

कार्कीलाई कार्यक्रम सञ्चालक विशालले खादा लगाइदिएर सभाध्यक्ष दीपाश्रीले बुके दिएपछि कमेडी प्रस्तुति सुरु हुन्छ। मञ्चमा कलाकार पवन भट्टराई देखिन्छन्। उनले दीपाश्रीलाई आफूसँग बस्न मञ्चमा बोलाउँदा नमानेपछि उनी नै दगुर्दै सभाध्यक्षको सोफामा गएर नजिकै बस्छन्।

कार्यक्रम सञ्चालक विशाल भण्डारी र कलाकार दीपाश्री निरौलाको बीचमा प्रहरी महानिरीक्षक कार्की। तस्बिर स्रोत : कमेडी नाइट विथ च्याम्पियन्सको फेसबुक पेज

विशाल पवनलाई प्रश्न गर्छन्, ‘तपाईं त्यहाँ गएर दीपा दिदीसँग किन बसेको?’

पवन भन्छन्, ‘कस्तो किन बसेको, पुलिसले केटा र केटी सँगै बसेको देख्यो भने त बिहे गर्दिन्छ अरे नि त!’

आईजीपी कार्की मुसुमुसु हाँस्छन्। विशालको हाँसो भने दर्शकको तालीभन्दा चर्को सुनिन्छ।

दीपाश्रीले पवनको घाँटी न्याक्न थालेपछि उनी ‘आईजीपी साब’ भनेर गुहार माग्दै उम्किन खोज्छन्।

दीपाले घाँटी अठ्याउन छाडेपछि भट्टराई आईजीपीलाई भन्छन्, ‘यहाँभरिको सबैभन्दा ठूलो मान्छे तपाईं हुनुहुन्छ, सहमति भए हात मिलाम्।’

विशाल सोध्छन्, ‘ओ झरी दाइ, त्यहाँबाट हात मिलाइन्छ त! नजिक आएर मिलाउनुपर्‍यो नि!’

प्रहरी प्रमुख टेलिभिजनको कमेडी कार्यक्रममा सहभागी हुनु स्वतः गलत वा अनुचित होइन। जनचेतना, नागरिक-प्रहरी सम्बन्ध सुधार वा संस्थागत सन्देश प्रवाह गर्ने उद्देश्यले सहभागी भएमा त्यसले सार्वजनिक सञ्चारको काम गर्छ। तर, प्राथमिकताको विषय के हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

पवन भन्छन्, ‘कानुनको हात लामो हुन्छ, हैन र?’ यहाँ पनि प्रहरीलाई हाँसोको पात्र बनाइएको छ।

यसपछि अर्का कलाकार कर्मासिंह लामा स्कुले विद्यार्थीको भूमिकामा देखा पर्छन्। उनले आईजीपीलाई ‘ठूलो मामा’ सम्बोधन गर्छन्। कार्की ‘हजुर हजुर’ भन्छन्।

कर्मा सोध्छन्, ‘ठूलो मामा, हजुरहरूको रेगुलर ग्राहक दुर्गा प्रसाईं हो? जहिल्यै पनि समातेको मात्रै देख्छु।’

कार्की जवाफ दिन्छन्, ‘कहिलेकाहीँ भान्जाबाबुका साथीभाइ पनि आइराख्छन्।’

यसपछि ट्राफिक प्रहरीको पोसाकमा देखिन्छन् कलाकार सुमन कार्की। उनले आईजीपी कार्कीले रचना गरेको गीतमा व्यंग्य गर्दै भन्छन्, ‘म त फर्केर आएँ, कोटेश्वरको धुलो खाएर आएँ।’

‘आज कति इन्कम भो, सेभिङ गर्नुपर्‍यो’ भन्दै पाइन्टको खल्ती टकटक्याउँछन्। दुवै खल्तीबाट बुङबुङ्ती धुलो झर्छ। ‘हामी ट्राफिकको सेभिङ यही धुलो त हो, तलब त सेभ गर्न सकिन्नँ,’ उनी भन्छन्। यसले प्रहरी कर्मचारीको यथार्थसँगै निरीहता देखाएको छ।

यसपछि जँड्याहाको भूमिकामा कैलाश कार्की र प्रहरी निरीक्षकको पोसाकमा सजन श्रेष्ठको प्रस्तुति देखिन्छ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा प्रस्तुत अधिकांश व्यंग्य प्रहरी संगठन, प्रहरीको कार्यशैली, ट्राफिक प्रहरीबारे जनधारणा, मदिरा सेवन गर्ने व्यक्तिको नियन्त्रण, पक्राउ प्रक्रिया तथा प्रहरीको सामाजिक छविप्रति केन्द्रित छ।

अर्का कलाकार भरतमणि पौडेल घरबेटीको भेषमा देखिन्छन्। उनले आईजीपी कार्की इन्स्पेक्टर हुँदादेखि एसएसपी हुँदासम्म आफ्नो घरमा डेरा लिएर बसेको भनेर कथानक बुन्छन्। त्यसपछि कार्कीसँग भन्छन्, ‘अनि आईजीपी साब, अब मेरै घरमा बस्नुभो, देशको प्रमुख हुनुभो। अब सेलेरी बढ्यो होला, त्यो पहिलेको दुई महिनाको भाडा चाहिँ मिलाइदिनुपर्‍यो।’

कमेडी सोका अधिकांश दृश्यमा प्रहरीलाई हाँसोको पात्र बनाइएको छ। प्रहरीका सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपशमशेर राणाका अनुसार कलाकारले भेटेरै अनुरोध गरेपछि आईजीपी कार्की कमेडी सोमा गएका हुन्। “कलाकारले प्रधान कार्यालयमै आएर अनुरोध गरेपछि सर जानुभएको हो,” उनी भन्छन्, “कार्यक्रम हास्यव्यंग्यात्मक भए पनि प्रहरीप्रति सकारात्मक सन्देश दिएको थियो।”

ट्रेलरको अन्तिममा देखिएका कलाकार सुमन कोइराला प्रहरीको काम-कर्तव्यको प्रशंसा गर्छन्।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा प्रस्तुत अधिकांश व्यंग्य प्रहरी संगठन, प्रहरीको कार्यशैली, ट्राफिक प्रहरीबारे जनधारणा, मदिरा सेवन गर्ने व्यक्तिको नियन्त्रण, पक्राउ प्रक्रिया तथा प्रहरीको सामाजिक छविप्रति केन्द्रित छ।

प्रहरी प्रमुख टेलिभिजनको कमेडी कार्यक्रममा सहभागी हुनु स्वतः गलत वा अनुचित होइन। जनचेतना, नागरिक-प्रहरी सम्बन्ध सुधार वा संस्थागत सन्देश प्रवाह गर्ने उद्देश्यले सहभागी भएमा त्यसले सार्वजनिक सञ्चारको काम गर्छ। तर, प्राथमिकताको विषय के हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। खासगरी, गत वर्षको जेन-जी आन्दोलनमा प्रहरी कार्यालयहरू तोडफोड र आगजनीमा पर्नुका साथै कुटपिट र हत्या गरिएपछि खस्किएको प्रहरीको मनोबल अझै पूर्ण रूपमा उठिसकेको छैन। आंशिक र पूर्ण गरी ४५९ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएकामा आठ वटा कार्यालय निर्माण हुन बाँकी नै छन्। प्रहरीको मनोबल उच्च बनाउन प्रहरी प्रधान कार्यालयले ठोस कार्ययोजना ल्याउन सकेको छैन।

प्रहरीसँग जोडिएको सामाजिक मान्यताका कुरा पनि हुन्छन्। शब्द शब्दका कुराले समाजमा प्रभाव पार्न सक्छ, त्यस्ता शब्दले कति असर गर्छन्, विचार गर्नुपर्छ।

यस्तो बेला प्रहरी प्रमुख कमेडी सोमा सहभागी हुनु, त्यो पनि पोसाकधारी प्रहरी कर्मचारीहरूलाई समेत लगिनुले संगठनको प्राथमिकतामा प्रश्न उठ्ने विषय बनेको छ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी प्रहरी संगठनको प्रमुख जनतासँग सकारात्मक हिसाबले जोडिने सार्वजनिक कार्यक्रममा जानु उचित हुने भए पनि संस्थागत गरिमा सर्वोपरि हुने बताउँछन्। “कार्यक्रममा जान त हुन्छ, तर संस्थाको गरिमालाई उडाइन्छ भने त्यसले राम्रो सन्देश जाँदैन,” उनी भन्छन्, “पद र गरिमाको मजाक उडाउने कुरा छन् भने विचार गर्नुपर्छ।”

यस्ता कार्यक्रमले कहिलेकाहीँ विवाद निम्त्याउन सक्छन्। ठकुरीका अनुसार, कार्यक्रममा प्रहरी प्रमुखले प्रहरी सुधार, नागरिक-प्रहरी सम्बन्ध र संस्थागत सन्देश दिएमा त्यो सकारात्मक अभ्यास मान्न सकिन्छ। कार्यक्रम केवल मनोरञ्जन, आत्मप्रचार वा पदको गरिमा घटाउने प्रकृतिको भएमा आलोचना जायज हुन सक्ने उनी बताउँछन्। प्रहरीको खर्च, समय र स्रोत प्रयोग गरेर यस्तो सहभागिता हुँदा सार्वजनिक जवाफदेहीको प्रश्न पनि उठ्छ। “प्रहरीसँग जोडिएको सामाजिक मान्यताका कुरा पनि हुन्छन्। शब्द शब्दका कुराले समाजमा प्रभाव पार्न सक्छ, त्यस्ता शब्दले कति असर गर्छन्, विचार गर्नुपर्छ,” ठकुरी भन्छन्।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रमका सञ्चालक विशाल भने यस एपिसोडले नेपाल प्रहरीको समर्पण, त्याग र सेवाभावप्रति सम्मान व्यक्त गर्ने बताउँछन्। “हाम्रो कार्यक्रमको यो एपिसोडले संगठनभित्र सकारात्मक ऊर्जा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनी भन्छन्।

कार्यक्रमको भिडियो लिंक…