आवरण
गाँजा तस्करीको राष्ट्रिय केन्द्र बनिरहेको सुनसरी
१९ असोज २०८२ को राति सुनसरीको कोसी गाउँपालिका-७ मा प्रहरीले धान खेतबाट ५३७ किलो १४० ग्राम गाँजा बरामद गर्यो। भारतसँग सीमा जोडिएको भन्टाबारीनजिकै खेतमा भण्डारण गरिएको गाँजा सीमापार तस्करी गर्ने तयारीको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस क्रममा स्थानीय ४५ वर्षीय दिनेश यादव पक्राउ परे। बरामद गाँजाको परिमाणले सामान्य कारोबार नभई यसमा संगठित समूह रहेको संकेत दिन्थ्यो।
यसको सात महिनापछि गत २९ वैशाखमा गाँजा तस्करीको अर्को चकित पार्ने घटना धरानमा सार्वजनिक भयो। यसपटक गाँजा एम्बुलेन्समा फेला पर्यो। धरान उपमहानगरपालिका-१३ मा प्रहरीले को १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट ४४० किलोग्राम गाँजा बरामद गर्यो। एम्बुलेन्स बुढासुब्बा डायग्नोस्टिक सेन्टर प्रालि धरानले सञ्चालन गर्थ्यो।

२९ वैशाखमा धरान-१३ मा एम्बुलेन्सबाट बरामद गरिएको गाँजा।
११ मंसिर २०८२ मा सुनसरीकै इनरुवा नगरपालिका-७, चाँदवेलामा गाँजा बरामद गर्न प्रहरीले गोली चलायो। भारततर्फ गाँजा लैजाँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले स्कार्पिओ गाडी रोक्न खोज्दा चालकले हुइँक्याए। प्रहरीले एक राउन्ड हवाई फायर गरी स्कार्पिओबाट १५३ किलो गाँजा बरामद गर्यो।
सुनसरीमा गाँजा तस्करहरूले अपनाउने शैली समयसँगै फेरिएको छ। उनीहरूको लक्ष्य ठूलो परिमाणमा गाँजा भारत पुर्याउने छ। सीमावर्ती क्षेत्रका खेतबाट सयौँ किलो लागुऔषध ओसार्ने साधन बनेका छन्, एम्बुलेन्स। सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेका अनुसार गाँजा तस्करी नियन्त्रण गर्नु प्रहरीका लागि दिनानुदिन चुनौती बन्दै गएको छ। नेपालबाट भारततर्फ गाँजा ओसार्ने तिकडम चल्दा सीमाक्षेत्रमा प्रहरी र तस्करबीच तनाव हुने गरेको छ।
विशेषगरी, सुनसरीको कोसी गाउँपालिकास्थित भन्टाबारी, लौकही, श्रीपुर, हरिपुर तथा आसपासका क्षेत्रबाट भारततर्फ गाँजा तस्करी हुँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी उपरीक्षक थेवे भन्छन्, “सप्तकोसीको करिडोर त्यसमाथि खुला सिमाना भएका कारण यस क्षेत्रबाट सजिलैसँग गाँजा भारत पुर्याउन सकिन्छ भनी तस्करी प्रयास भएको देखिन्छ।”
गाँजा तस्करीको केन्द्र सुनसरी
पछिल्ला केही वर्षका तथ्यांकले सुनसरीलाई गाँजा तस्करीको ‘इपिसेन्टर’ का रूपमा स्थापना गरेका छन्। नेपालको दक्षिणी सीमामा अवस्थित सुनसरी भारतको बिहार राज्यसँग जोडिएको जिल्ला हो। सुनसरीसँग सीमा जोडिने बिहारको अररिया र सुपौल जिल्ला छन्। तस्करहरूले विशेष रूपमा कोसी नदीको तट र भन्टाबारी-वीरपुर नाका रोजेको देखिन्छ। सुपौल जिल्लासँग जोडिएको यही सीमाबिन्दु हुँदै ठूलो परिमाणमा गाँजा भारततर्फ तस्करी गरिएको प्रहरीको निष्कर्ष छ।

सुनसरीमा बरामद भएको भारत, बिहार राज्यमा सञ्चालन हुने एम्बुलेन्स।
जिल्लागत रूपमा हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ मा गाँजा बरामद तथ्यांकमा सुनसरीले कोसी प्रदेशका सबै जिल्लालाई पछाडि पारेको छ। चालु आवको वैशाखसम्म कोसी प्रदेशभरि २२ हजार ६४६ किलो गाँजा बरामद भएकामा सुनसरीबाट मात्रै १४ हजार १९७ किलो बरामद भएको छ। यो तथ्यांक हेर्दा कोसी प्रदेशभरि बरामद हुने गाँजामा सुनसरीको हिस्सा ६० प्रतिशतभन्दा बढी छ। तथ्यांकले सुनसरी ट्रान्जिट रुट मात्र नभई गाँजा तस्करीको केन्द्रबिन्दुमा रूपान्तरित भइरहेको देखाउँछ।
सुनसरीका प्रहरी उपरीक्षक थेवेका अनुसार खुला सीमा, असंख्य ग्रामीण भेग र तस्करहरूको बदलिँदो रणनीतिका कारण गाँजा नियन्त्रण चुनौतीपूर्ण छ। “खुला सीमा भएका कारण जताततैबाट गाँजा तस्करी हुने गरेको छ। गाँजा ओसार्न व्यक्तिगत गाडी, ट्रक, एम्बुलेन्स केही पनि बाँकी राखेका छैनन्,” उनी भन्छन्।
अघिल्लो आव २०८१/८२ मा पनि सुनसरी जिल्ला नै गाँजा बरामदमा अग्रस्थानमा थियो। त्यस वर्ष कोसी प्रदेशभरि २६ हजार ६८७ किलो गाँजा बरामद भएकामा सुनसरीमा मात्रै १२ हजार ३७६ किलो बरामद भएको थियो। अर्थात् प्रदेशभरि बरामद भएको कुल गाँजाको झन्डै आधा हिस्सा सुनसरीकै थियो। चालु वर्षमा यो अनुपात बढेर ६० प्रतिशत नाघेको छ।
लागुऔषध नियन्त्रणमा डेढ दशक काम गरेका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार सुनसरीमा गाँजा तस्करीको अहिलेको अवस्था अत्यन्तै चिन्ताजनक हो। “एउटा जिल्लामा यति ठूलो परिमाणमा गाँजा बरामद हुन्छ भने अत्यधिक चिन्ता लिनुपर्ने हुन्छ,” उनी भन्छन्, “विश्वव्यापी आँकडा हेर्दा प्रहरीले कुल कारोबारको १५ देखि २० प्रतिशत मात्रै लागुऔषध बरामद गर्न सक्ने मानिन्छ। यस हिसाबमा बरामद हुन नसकेको गाँजा कति होला भन्ने अनुमान गर्न सकिन्छ।”
ठकुरीले भने जस्तै प्रहरीले बरामद गरेको गाँजा समग्र कारोबारको सानो अंश मात्र हो भने सुनसरी हुँदै भारततर्फ लगिने गाँजाको वास्तविक परिमाण सरकारी तथ्यांकभन्दा कैयौँ गुणा ठूलो हुन सक्छ। “सुनसरीमा बढ्दो गाँजा बरामदलाई प्रहरीले सफलताका रूपमा मात्र हेरेको होला, तर उक्त जिल्ला गाँजा तस्करीको राष्ट्रिय केन्द्र बन्दै गएको चेतावनी संकेतका रूपमा हेरिनुपर्छ,” ठकुरी भन्छन्।
सुनसरीपछि कोसी प्रदेशमा सबैभन्दा बढी गाँजा ओसारपसार हुने जिल्ला मोरङ हो। मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार मोरङमा चालु वर्षको वैशाखसम्म चार हजार ८५१ किलो गाँजा बरामद भएको छ। आव २०८१/८२ मा ६ हजार ६५० किलो गाँजा बरामद भएको थियो। सुनसरीपछि गाँजा कारोबारीले मोरङका सीमावर्ती नाका प्रयोग गर्ने गरेको देखिएको छ। प्रहरी उपरीक्षक कटवाल भन्छन्, “गाँजा नियन्त्रणका लागि हामीले सूचना संयन्त्र परिचालन गरेका छौँ। यो काम प्रहरीको उच्च प्राथमिकतामा छ।”
ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ धरान
तथ्यांकले पछिल्लो समय धरान गाँजा ओसारपसार र तस्करीको केन्द्र बनेको देखाउँछ। चालु आव २०८२/८३ को वैशाखसम्म र अघिल्लो आव २०८१/८२ को तथ्यांक विश्लेषण गर्दा धरान गाँजा संकलन र वितरणको सबैभन्दा ठूलो केन्द्र हो। यससँगै बराहक्षेत्र, कोसी गाउँपालिका, बर्जु गाउँपालिका र इनरुवा नगरपालिका पनि गाँजा कारोबारका सहायक बिन्दु हुन्।
नेपालन्युजले सुनसरीमा बरामद गाँजामध्ये १०० किलोभन्दा बढी कहाँ कहाँ फेला परेको थियो भनेर अध्ययन गर्दा चालु आवको वैशाखसम्म धरानबाट एक हजार ३३९ किलो गाँजा बरामद भएको छ। त्यस्तै, कोसी गाउँपालिकाबाट एक हजार ३७, बराहक्षेत्रबाट ८१३, बर्जु गाउँपालिकाबाट ५५७ किलो र इनरुवा नगरपालिकाबाट ४६० किलो गाँजा बरामद भएको छ।
अघिल्लो आव २०८१/८२ को तथ्यांकमा धरानबाट मात्रै पाँच हजार ८३ किलो गाँजा बरामद भएको थियो। यसले धरान पूर्वी नेपालका पहाडी जिल्लाबाट आउने गाँजाको मुख्य संकलन केन्द्र बनेको देखाउँछ। तथ्यांक र घटनाक्रमले पूर्वी नेपालमा उत्पादन हुने गाँजाको मुख्य प्रवाह धरान, बराहक्षेत्र हुँदै कोसी गाउँपालिकासम्म पुग्ने तथा त्यहाँबाट भारतीय बजारतर्फ जाने संगठित मार्ग बनिसकेको देखाउँछ। उक्त वर्ष बराहक्षेत्रबाट ५१२ किलो, कोसी गाउँपालिकाबाट ३३६ किलो तथा भोक्राहा नरसिंह गाउँपालिकाबाट ३३६ किलो गाँजा बरामद भएको थियो।
प्रहरी अनुसन्धान अनुसार झापा, मोरङ, सुनसरी र सप्तरीमा बरामद हुने अधिकांश गाँजाको मुख्य स्रोत धनकुटा हो। उदयपुर र भोजपुरमा समेत गाँजा खेती मौलाइरहेको प्रहरीको निष्कर्ष छ। धनकुटा र भोजपुरमा उत्पादन हुने गाँजा धरान ल्याइने गरेको छ। उदयपुरमा उत्पादन हुने गाँजा बराहक्षेत्रमा जम्मा गरिन्छ। यसरी आएको गाँजा कोसी गाउँपालिका आसपास केन्द्रित भई भारतको बिहार तस्करी हुने गरेको छ। कोसी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे भन्छन्, “पूर्वी पहाडी जिल्ला धनकुटामा गाँजा खेती व्यापक बनिरहेको सूचना छ। भोजपुर र उदयपुरको गाँजा विभिन्न माध्यमबाट सीमासम्म पुर्याइन्छ। पछिल्लो समय तस्करहरूले प्रहरी हत्तपत्त शंका नगर्ने साधनसमेत प्रयोग गरिरहेका छन्।”
धनकुटाबाट गाँजा बोकेर १३ पुस २०८२ मा मोरङको केराबारी पुगेको सरकारी नम्बर प्लेटको एम्बुलेन्समा प्रहरीले ४८० किलो गाँजा फेला पार्यो। प्रहरीले हवाई फायर गरेर गाँजा बरामद गरेको थियो। प्र-१-०६-००१झ००५ नम्बरको एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका-१ बाट सञ्चालित थियो। एम्बुलेन्समा राखिएको ४८० किलो गाँजा भारततर्फ लैजाने तयारीस्वरूप केराबारी ल्याइएको थियो। त्यहाँबाट अनुकूलता हेरेर सुनसरी वा मोरङको सीमा पुर्याउने तयारी प्रहरीका कारण विफल बनेको थियो।

१३ पुस २०८२ मा मोरङको केराबारीमा बरामद भएको धनकुटा सहिदभूमि गाउँपालिकाको एम्बुलेन्स।
तर, उत्पादन बढी हुने धनकुटा जिल्लामा गाँजा नियन्त्रणमा प्रहरी कारबाही सन्तोषजनक छैन। धनकुटाका दुर्गम बस्तीबाट सडकमार्ग हुँदै धरानसम्म गाँजा ल्याइएको अवस्था हेर्दा उत्पादन क्षेत्रमै निगरानी, नियन्त्रण र कारबाही प्रभावकारी हुनुपर्ने हो। तर, बरामदको तथ्यांकले उल्टो चित्र देखाउँछ। चालु आवको वैशाखसम्म धनकुटा प्रहरीले जम्मा ८८६ किलो गाँजा बरामद गरेको छ। अघिल्लो आव धनकुटा प्रहरीले चार हजार १९४ किलो गाँजा बरामद गरेको थियो। जबकि, सोही अवधिमा सुनसरीको धरान क्षेत्रमा मात्रै पाँच हजार ८३ किलो गाँजा बरामद भएको तथ्यांक छ।
उत्पादन हुने जिल्लाभन्दा ट्रान्जिट र सीमावर्ती क्षेत्रमा बढी गाँजा बरामद गरिएका कारण धनकुटा प्रहरीको प्राथमिकतामा गाँजा तस्करी पर्दैन। धनकुटामा भर्खरै सरुवा भएका प्रहरी उपरीक्षक नारायण रञ्जितकार भन्छन्, “पहिले के भयो मलाई जानकारी भएन, गाँजाको विषयमा तालुक कार्यालयबाट सर्कुलर भएका छन्, शून्य सहनशीलताको नीति अख्तियार गरी काम गर्नेछु।” सहिदभूमि, साँगुरीगढी गाउँपालिका, महालक्ष्मी र पाख्रीबास नगरपालिकामा गाँजा खेती व्यापक रहेको सूचना रहेको उनी बताउँछन्।
मधेसका सबै जिल्लामा गाँजा तस्करी
कोसी प्रदेशको सुनसरीपछि प्रहरी तथ्यांकमा मधेस प्रदेश गाँजा बरामदको दोस्रो ठूलो केन्द्रका रूपमा देखिन्छ। देशको मध्य भूभाग पहाडमा उत्पादन हुने गाँजा मधेस प्रदेशका जिल्ला हुँदै बिहार पुग्ने गरेको छ। भारतको बिहार राज्यसँग जोडिएका मधेस प्रदेशका आठ वटै जिल्लामा गाँजा ओसारपसार र तस्करी भइरहेको देखिएको छ। धादिङ र मकवानपुरमा खेती हुने गाँजा मधेस प्रदेश पुग्ने गरेको प्रहरीले जनाएको छ।
मधेस प्रदेशमा चालु आवको वैशाखसम्म १२ हजार ७५० किलो गाँजा बरामद भएको देखिन्छ। मधेसका जिल्लामध्ये सप्तरीमा गाँजा बढी बरामद भएको तथ्यांक छ। चालु आवमा सप्तरीमा दुई हजार ९६२ किलो गाँजा बरामद भएको छ। यसपछि सिरहा र धनुषामा गाँजा बरामद बढी भएको छ। सिरहामा चालु आवमा दुई हजार १७० र धनुषामा दुई हजार २९ किलो गाँजा बरामद भएको छ। बारा र पर्सामा गाँजा बढी देखिने गरेको छ। पर्सामा एक हजार ६४४ र बारामा एक हजार ३२५ किलो गाँजा बरामद भएको देखिन्छ।
आव २०८१/८२ मा मधेस प्रदेशमा १५ हजार ६८३ किलो गाँजा बरामद भएको थियो। उक्त वर्ष सप्तरीमा ६ हजार १० किलो गाँजा बरामद भएको प्रहरीको तथ्यांक छ। सप्तरी र सिरहामा बरामद हुने गाँजा उदयपुर जिल्लाबाट समेत पुग्ने गरेको प्रहरीको भनाइ छ। यसबाहेक मधेसका जिल्लामा धादिङ र मकवानपुरको गाँजा पुग्ने गरेको छ। बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर भन्छन्, “बारामा बरामद हुने गाँजा मकवानपुरबाट ट्रकमा आउने गरेको देखिन्छ।”
गाँजाको ‘जिओपोलिटिक्स’
सुरक्षाविद्का अनुसार नेपालको गाँजा तस्करी भएर बिहार पुगिरहेको छ। बिहार नेपालमा २०३३ सालअघि गाँजा खेती हुँदाकै मुख्य बजार थियो। बिहारसँग जोडिएका कोसी र मधेस प्रदेशका जिल्ला यातायात र आवतजावतका हिसाबले सहज पहुँचमा छन्। सुनसरी बिहारको सुपौल र अररिया जिल्लासँग जोडिएको छ। सुपौल, मधेपुरा, सहरसा, मधुबनी, सीतामढी, सिवान, पूर्वी चम्पारन र पश्चिमी चम्पारन सबै बिहारका जिल्ला हुन्। बिहारका यिनै जिल्ला हुँदै नेपाली गाँजा युरोप, अमेरिका र क्यानडा पुग्ने गरेको छ। “औषधि उत्पादनलाई लक्षित गरी बिहारमा गाँजा तस्करी हुने गरेको यदाकदा बताइन्छ, जुन गलत हो,” पूर्वडीआईजी ठकुरी भन्छन्, “बिहारमा लगिने गाँजा युरोप, अमेरिका र क्यानडा पुर्याइने गरेको छ।”
पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा गुणस्तरीय हुने भएकाले ती मुलुकका सेवनकर्ताको रोजाइमा नेपालको गाँजा पर्छ। बिहारका नामुद तस्करले नै नेपालको गाँजा खेतीमा लगानी गरेको दाबी ठकुरीको छ। उनका अनुसार २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन आएपछि नेपालमा गाँजाको खुलमखुला खेती रोकिएको थियो। त्यसअघि नेपालमा गाँजा खेती भएका क्षेत्रमा बिहारका व्यक्तिहरूको लगानी रहेको उनको दाबी छ।
लागुऔषध नियन्त्रण ऐन सक्रिय बनेपछि नेपालमा खुलमखुला खेती गर्न रोकिएको गाँजाको उत्पादन २०७० को दशकबाट फेरि बढ्न थाल्यो, जतिबेला भारतको राजनीतिमा फेरबदल आयो। नरेन्द्र मोदीको सत्तारोहणपछि भारतले उत्तर-पूर्वका राज्यमा सुरक्षामा कडाइ गरेसँगै त्यहाँ गाँजा खेती कम भएको छ। त्यसअघि उत्तर-पूर्वका आसाम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरा राज्यमा गाँजा खेती अत्यधिक हुन्थ्यो। ती राज्यमा पछिल्ला वर्षमा पश्चिमा गतिविधि बढेको भन्दै भारतले सुरक्षा रणनीति बदलेका कारण नेपालमा गाँजा खेती फस्टाएको पूर्वडीआईजी ठकुरी बताउँछन्। “सुरक्षा गतिविधि बढेपछि ती राज्यको संगठित समूहले बिहारलाई ट्रान्जिट बनाएको छ। त्यस समूहले नेपाली गाँजा बिहार हुँदै युरोप, क्यानडा र अमेरिका पुर्याउने गरेको छ,” ठकुरी भन्छन्। बिहारमा भने गाँजा खेती हुँदैन।
२०७६ सालमा तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गाँजामा लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र नियन्त्रणमा खेती गर्न पाउनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेपछि यससम्बन्धी बहस सुरु भएको थियो।
उत्तर-पूर्वमा स्वतन्त्रता वा स्वायत्तताको माग गर्दै विगतमा आन्दोलन चलेका थिए। हिंसा घटेको भए पनि केही समूह अझै सक्रिय रहेको र बर्मा (म्यानमार)को सीमाक्षेत्र उनीहरूको आधार क्षेत्र रहेको बुझाइमा भारतले ती राज्यमा सुरक्षा बढाएको छ। सन् २०२१ को सैनिक ‘कु’ पछि म्यानमार अशान्त छ। मिजोरम, मणिपुर र नागाल्यान्डसँग जोडिएको सीमाबाट शरणार्थी, सशस्त्र समूह तथा तस्करी गतिविधि बढेको भन्दै भारतले कडाइ गर्छ।
भारतको उत्तर-पूर्वमा सुरक्षा बढाउनुको अर्को कारण ‘गोल्डेन ट्र्यांगल’ हो। दक्षिण-पूर्वी एसियाको उक्त क्षेत्रमा म्यानमार, लाओस र थाइल्यान्डका सीमाहरू भेटिन्छन्। विशेषगरी, म्यानमारको ‘शान’ राज्य उक्त क्षेत्रको केन्द्र हो। यो क्षेत्र दशकौँदेखि विश्वकै प्रमुख अवैध लागुऔषध उत्पादन क्षेत्रमध्ये एक मानिँदै आएको छ। सन् १९५० देखि १९९० को दशकसम्म त्यहाँ अफिम र हेरोइन उत्पादन अत्यधिक हुन्थ्यो। पछिल्ला वर्षहरूमा भने अफिमसँगै एम्फेटामीलगायत कृत्रिम लागुऔषध उत्पादन र तस्करी हुने अनुमानमा भारतले सुरक्षा बढाएको छ। आसाम र त्रिपुरामा अवैध आप्रवासन राजनीतिक र सुरक्षा मुद्दा बनेको छ। उत्तर-पूर्वी भारत चीन, म्यानमार र बाङ्लादेशसँग जोडिएको संवेदनशील क्षेत्र हो। चीनको प्रभाव, सीमा विवाद र क्षेत्रीय प्रतिस्पर्धालाई ध्यानमा राख्दै त्यहाँ भारतले सुरक्षा बढाएको छ।
गत मार्चमा भारतले ६ जना युक्रेनी र एक अमेरिकीलाई पक्राउ गरेको थियो। दिल्ली र लखनउबाट तीन तीन जना युक्रेनी र कोलकाता विमानस्थलबाट एक अमेरिकी पक्राउ परेका थिए। भिजिट भिसामा भारत आएर उनीहरू मिजोरम हुँदै म्यानमार पुगेको, जातीय सशस्त्र समूहसँग सम्पर्क गरेको मात्रै नभएर भारतले युरोपबाट ड्रोन ल्याएर म्यानमार पुर्याएको आरोप लगाएको थियो। यस्ता गतिविधि बेलाबेला चर्चामा आउने गरेका कारण भारतले उत्तर-पूर्वमा सुरक्षा रणनीति बदलेको छ। “यसैकारण उत्तर-पूर्व र बिहारसमेतको संगठित समूहले बिहार राज्यलाई ट्रान्जिट बनाएर नेपालमा गाँजा खेती विस्तार गर्ने र सोही राज्यमा तस्करी गराउने गरेको हो,” पूर्वडीआईजी ठकुरी भन्छन्।
नेपालमा गाँजा : खोल्न बहस, रोक्न सकस
नेपालको लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजाको औषधीय तथा अनुसन्धानात्मक र वैज्ञानिक प्रयोगका लागि अनुमति लिएर खेती गर्न सकिने व्यवस्थासमेत गरेको छ। नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई औषधीय र अनुसन्धानमूलक प्रयोजनका लागि फुकुवा गर्ने पक्षमा मतदान पनि गरेको छ। नेपालमा गाँजा खुलाउनुपर्ने बहस यदाकदा हुँदै आएको छ।
२०७६ सालमा तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गाँजामा लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र नियन्त्रणमा खेती गर्न पाउनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेपछि यससम्बन्धी बहस सुरु भएको थियो।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार नेपालमा गाँजा खेती हुने २३ वटा जिल्ला छन्। कोसी प्रदेशमा धनकुटा र उदयपुर जिल्लामा व्यावसायिक रूपमै गाँजा खेती गरिएको छ। इलाम, भोजपुर र ताप्लेजुङ जिल्लामा गाँजा खेती छ। मधेस प्रदेशमा बारा, पर्सा, सर्लाही र महोत्तरी जिल्लामा मध्यम रूपमा गाँजा खेती छ। बागमती प्रदेशमा काठमाडौँ र चितवनमा सामान्य रूपमा गाँजा खेती छ। मकवानपुर, धादिङ, सिन्धुली र नुवाकोटमा गाँजा र अफिमको व्यावसायिक खेती रहेको ब्युरोले जनाएको छ।
नेपालले व्यावसायिक प्रयोजनमा गाँजा खेती गर्न नसक्नुको कारण तस्करीलगायत आपराधिक घटना वृद्धि भए भयावह अवस्था निम्तिने डर हो।
गण्डकी प्रदेशको बागलुङमा गाँजाको व्यावसायिक खेती छ। लुम्बिनी प्रदेशको रोल्पा, पूर्वी रुकुममा अफिमको व्यावसायिक खेती छ। कर्णालीमा दैलेख, कालीकोट, जाजरकोट र जुम्लामा अफिम खेती छ। सुदूरपश्चिम प्रदेशमा बझाङमा सामान्य रूपमा गाँजा खेती छ। यी जिल्लामा कति क्षेत्रफलमा गाँजा र अफिम खेती हुन्छ भन्ने आधिकारिक तथ्यांक प्रहरीसँग छैन।
तर, प्रहरीले चार वर्षयता गाँजा खेती व्यापक फँडानी गरिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार आव २०७९/८० देखि चालु आवको वैशाखसम्म एक हजार १२४ बिघा, ११ हजार ८८१ रोपनी जग्गामा गाँजा खेती फँडानी गरेको छ। ती वर्षमा ६७ लाख ४९ हजार ८१७ बोट गाँजा फँडानी गरिएको केन्द्रीय प्रहरीको तथ्यांक छ।

धनकुटामा गाँजा खेती नष्ट गर्दै प्रहरी।
जुन २०१८ मा क्यानडाको संसद्बाट गाँजाको गैरऔषधीय प्रयोगसमेत गर्न सकिने गरी कानुनी व्यवस्था पारित भयो। तत्पश्चात् पश्चिमा राष्ट्रहरूले गाँजामा रहेको औषधीय गुणका कारण गाँजालाई अब प्रतिबन्ध लगाइरहन नहुने मत सिर्जना गरिरहेका छन्। पश्चिमी मुलुकले गाँजामा रहेको कानुनी प्रतिबन्ध फुकुवाको वकालत गर्न थालेपछि क्यानडा, जर्जिया, दक्षिण अफ्रिका, उरुग्वे हुँदै अमेरिकाका धेरै राज्यमा गाँजाप्रतिको प्रतिबन्ध फुकुवा भइसकेको छ। यसरी गाँजामा रहेको प्रतिबन्ध फुकुवा हुने क्रम बढेपछि विश्व स्वास्थ्य संगठनले समेत यस सम्बन्धमा अध्ययन गरी सिफारिस गर्न अनुरोध गरेको छ।
तर, नेपालले व्यावसायिक प्रयोजनमा गाँजा खेती गर्न नसक्नुको कारण तस्करीलगायत आपराधिक घटना वृद्धि भए भयावह अवस्था निम्तिने डर हो। पूर्वडीआईजी ठकुरी भन्छन्, “लागुऔषधको तस्करी सिलसिलामा अन्य संगठित अपराधी पनि भित्रिन सक्ने भए। खेती जनताले गर्छन्, राजनीतिकर्मी, प्रहरी, प्रशासन पनि जोडिन सक्ने भए। यसले भ्रष्टाचारसमेत बढाउने सम्भावना हुन्छ।”