काठमाडौँ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बिमा क्षेत्रको पत्रकारितामा योगदान पुर्याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
राजधानिमा बिहीबार आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठबाट पुरस्कार प्रदान गरिएको हो। यस वर्षको भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सुरेश बिडारीलाई प्रदान गरिएको छ। उनी सेतोपाटी डटकममा आबद्ध छन्।
त्यस्तै भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमकी रीता राउतले प्राप्त गरेकी छन्।
नेपाल निर्जीवन बिमा व्यवसायी संघ-नाफिज बिमा पत्रकारिता पुरस्कार बिमा पोस्ट डटकमकी रिना खत्रीलाई प्रदान गरिएको छ। उक्त पुरस्कार सम्बन्धित क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको नाफिजले जनाएको छ।