काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

काठमाडौँ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ।

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य सावित्री मल्ल र पूर्वमन्त्री कुन्ती शाहीको आतिथ्यतामा काठमाडौँमा भएको कार्यक्रमबीच परिमार्जित समयतालिका र विस्तृत नियम सार्वजनिक गरिएका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनका लागि एक करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए। “हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ। यो वर्ष चलचित्रकै लागि भनेर एक करोड रुपैयाँ बजेट छुट्टाउने सहमति छ,” उनले भने, “म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु।” कर्णाली क्षेत्रका अनगिन्ति र मौलिक कथालाई सिने-पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको हो।

प्रतियोगिता सार्वजनिक भएलगत्तै विशेषगरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाबाट भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका लागि थप समय आवश्यक रहेको भन्दै अनुरोध आएपछि महोत्सव सचिवालयले आवेदन दिने अवधि थप गर्ने निर्णय गरेको हो। कोही पनि योग्य एवं प्रतिभावान् सर्जक यो सुनौलो अवसरबाट नछुटुन् र कथामा परिपक्वता आओस् भन्ने उद्देश्यले यो निर्णय लिइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए।

देश तथा विदेशमा रहेका सिर्जनशील लेखकबाट आह्वान गरिएका कथामध्ये विशेषज्ञ निर्णायक मण्डलद्वारा पारदर्शी ढंगले उत्कृष्ट १५ कथा छनोट गरिनेछ। छनोट भएका ती कथा महोत्सवको ‘फिल्म स्टोरी बैंक’ मा सुरक्षित राखिनुका साथै लेखकलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम प्रदान गरिने आयोजकले जनाएको छ। तीमध्ये सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिनेछ। स्वदेश तथा विदेशका चलचित्र निर्माता एवं निर्देशकलाई आमन्त्रण गरी ती कथामा व्यावसायिक चलचित्र निर्माणका लागि मार्गप्रशस्त गरिनेछ। चलचित्र निर्माण हुने निश्चित भए कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र परामर्शसमेत प्रदान गरिनेछ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन्। सहभागी हुन नेपाली नागरिकता वा परिचयपत्र आवश्यक पर्नेछ। कथा मौलिक, अप्रकाशित र अनिवार्य रूपमा कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित भई नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। कथाको शीर्षकसहित तीनदेखि ५ हरफको मर्म (लगलाइन) शीर्ष स्थानमा राखी एमएस वर्डमा टाइप गरिएको कम्तीमा तीन पेजको सारांश वा बढीमा सात पेजको विस्तृतीकरण पेस गर्नुपर्ने नियम छ। सहभागीले आफ्नो परिचयपत्र र कथा सुरक्षित गर्न दिएको अनुमतिपत्रसहित महोत्सवको आधिकारिक इमेलमा परिमार्जित अन्तिम म्याद आगामी १४ मंसिर २०८३ (३० नोभेम्बर २०२६) भित्र आफ्नो सिर्जना पठाइसक्नुपर्नेछ।

प्राप्त कथाको नतिजा आगामी १६ पुस २०८३ (३१ डिसेम्बर २०२६) मा प्रकाशन गरिनेछ। छनोटमा परेकालाई २०२६ कै चौथो महोत्सवको आयोजना समयमा चलचित्र स्क्रिप्ट लेखन तालिम प्रदान गरिनेछ। महोत्सव सचिवालयले कर्णालीको माटो, संस्कृति र समाजको जीवन्त कथालाई विश्वमाझ पुर्‍याउने यस अभियानमा आफ्नो अमूल्य सिर्जनासहित सहभागी हुन सम्पूर्ण कथाकारमा आह्वान गर्दै विस्तृत जानकारी तथा कथा पठाउन आधिकारिक वेबसाइट र इमेल ठेगाना प्रयोग गर्न आग्रह गरेको छ।

कार्यक्रममा कर्णाली क्षेत्रको कथा रहेको सिर्जु शाहद्वारा लिखित पुस्तक ‘बैकिनी’ पनि सार्वजनिक गरिएको थियो।