चितवन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सफलता र राजनीतिक स्थिरताका लागि कांग्रेस सधैँ सकारात्मक रहने बताएका छन्।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा उनले विगतमा ठूला पार्टीहरू सम्हालिन नसक्दा र दुर्घटनामा पर्दा लोकतन्त्र, प्रणाली र जनताले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनले रास्वपाले प्राप्त गरेको जनमत स्थिरतातर्फ अघि बढोस् भन्दै कांग्रेस रास्वपाको प्रतिस्पर्धी मात्र भएको तर दुस्मन नभएको स्पष्ट पारे।
थापाले प्रतिपक्षमा रहेर कांग्रेसले जहाँ प्रश्न उठाउनुपर्ने हो त्यहाँ औँला ठड्याउने र राम्रो काममा थपडी बजाउने नीति लिएको बताए। रास्वपाले सुशासनलाई मन्त्र बनाएकामा खुसी व्यक्त गर्दै उनले आफ्नै दलभित्र पनि नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न र निरन्तर प्रश्न गरिरहन कार्यकर्ताहरूलाई सुझाव दिए।
यस्तै उनले विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई पूरै इन्कार नगर्न आग्रह गर्दै लोकतान्त्रिक आन्दोलनका बलिदानहरूलाई बिर्सन नमिल्ने उल्लेख गरे।
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै मुख्य दुस्मन भएको भन्दै तीविरुद्धको लडाइँ र डेलिभरीमा कांग्रेससँगै उभिने तर विधि मिचिएमा प्रश्न गरिरहने धारणा राखे।