काठमाडौँ। सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न डोजर चलायो। सुकुम्बासी र उनीहरूका सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो।
त्यसपछि सुकुम्बासीहरूलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरूप होल्डिङ सेन्टरहरूमा लग्यो। सुकुम्बासीहरू सर्ने क्रममा उनीहरूको केही सामान भने रंगशालामै छुटेको थियो। करिब साढे दुई महिनादेखि यो सामान रंगशालामै छ।
पानीले भिजेर धेरैजसो सामान कुहिएर गन्हाएको रंगशालाका कर्मचारीहरूले बताएका छन्। गृह मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई सामान सार्न आग्रह गर्दा वास्ता नगरिएको राखेपका कर्मचारीको गुनासो छ।

