काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरि विद्यालय शिक्षा विधेयक छिटै ल्याइने जानकारी दिएका छन्।
चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग उनले अवको ५० वर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौती सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिए। उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोगजस्ता विषय समेट्ने गरी विधेयक आउने बताए।
उनले नेपालभरिको सम्पूर्ण विद्यालय पाठ्यक्रमलाई पूर्ण रूपमा पुनर्संरचना गर्न एउटा कार्यदल गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिए। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको तालिमसम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाइएको उनको भनाइ छ।
मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचान गरी सोही आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यक्रमहरू अगाडि सारिएको उल्लेख गरे। चितवनमा रहेका विश्वविद्यालय, क्याम्पस र स्कुलको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल चितवन पुगेका हुन्।