जुम्ला। जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ वटा योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम तीव्र गतिमा अघि बढाइएको छ।
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृत भई आएका यी योजनाहरूमध्ये हालसम्म ५० वटा योजना उपभोक्ता समितिमार्फत र सात वटा योजना ठेक्का सम्झौतामार्फत निर्माण सम्पन्न भइसकेका छन्।
कूल ९४ मध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएर काम भइरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिएका छन्।
कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा ७३ वटा क्रमागत सिँचाइ, १७ वटा तटबन्धन र २५ वटा खानेपानीसम्बन्धी योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जलस्रोत तथा ऊर्जा क्षेत्रका यी योजनाहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ।
कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाका कारण यहाँका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भई जमिनको स्तरसमेत सुधारिएको छ। चालु आर्थिक वर्षको जेठ महिनासम्म यस कार्यालयको कूल पुँजीगत बजेटको करिब ५० प्रतिशत खर्च भइसकेको छ।