काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
अ+
अ-

काठमाडौं।  जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ।

लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एकदुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम कायमै रहेको विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमापनि तातोलहर चल्न सक्ने सम्भावना औँल्याइएको छ।

मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगन्जमा आज तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना र धनगढीमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने, तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको विभागले पूर्वानुमान गरेको छ।

काठमाडौँ उपत्यकामा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ भने राति हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको विभागले जनाएको छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिए। उनले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको बताए।

विभागले जारी गरेको प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी,बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ।

मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने वर्षासँगै तातो दिनको अवस्था रहने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ भने रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।