कोलम्बो। श्रीलंकामा तीव्र रूपमा बढ्दै गएको डेंगु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन्।
राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्नेछन्। डेंगु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी, बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्रावसहित मृत्यु समेत हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यस वर्ष हालसम्म करिब ५० हजार सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको मृत्यु भएको छ। यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो। त्यतिबेला एक लाख ८६ हजार सङ्क्रमित र ४४० जनाको मृत्यु भएको थियो। डेंगु फैलाउने एडिस जातको लामखुट्टे स्थिर पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने स्थान हटाउन विशेष ध्यान दिइएको छ।
सरकारी विज्ञप्तिमा आफ्नो परिसरमा लामखुट्टे प्रजनन हुन दिनेहरूमाथि कानूनी कारबाही कडाइका साथ लागू गरिने उल्लेख छ। सरकारले बुधबारदेखि देशव्यापी सरसफाइ तथा प्रजनन स्थल नष्ट गर्ने अभियान सुरु गर्ने जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनका कारण डेङ्गुजस्ता लामखुट्टेजन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ।
श्रीलंकामा जुन महिनाको सुरुदेखि नै सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ र केही दिनमा मात्र दैनिक एक हजारभन्दा बढी नयाँ केसहरू दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबाबमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ।
डेंगु युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पतालहरू पहिले नै दबाबमा रहेको उल्लेख गर्दै सन् २०१७ जस्तो भयावह अवस्था दोहोरिन नदिन तत्काल नियन्त्रण आवश्यक रहेको बताइन्। मनसुनी वर्षा, हालैको बाढी र पानी जम्ने स्थानहरूको वृद्धि कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ।