काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुका कारण खुलाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै सरकारका नाममा कारण खुलाउन आदेश दिएको हो।
थुनामुक्त गर्न माग गर्दै पौडेल पक्षबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो।
साथै पौडेललाई पक्राउ गर्न आदेश दिने विपक्षी निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पनि पक्राउ गर्नु पर्नाको लिखित कारण दिन सर्वोच्चले भनेको छ। उक्त कारणसहितको लिखित जवाफ आएपछि अर्को पेसीमा आवश्यक निर्णय लिने सर्वोच्चको तयारी छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार प्रहरीले पौडेललाई सुर्खेतबाट सोमबार पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको जिकिर गर्दै उनकी पत्नीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको यो आदेशसँगै पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ।