काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

सुर्खेत। सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायत संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएको जनाएको छ। त्यस्ता सडकको सीमाभित्र निर्माण गरिएका संरचना १५ दिनभित्र सम्बन्धित पक्षले आफैँले खाली गराउन कार्यालयले निर्देशन दिइएको हो।

डिभिजन कार्यालयका अनुसार भेरी करिडोर (छिन्चु-छेडा सडक), कर्णाली राजमार्गका हर्रे-बांगेसिमल, बांगेसिमल-दहीखोला, मध्यपहाडी राजमार्गको सुयाडा-साइखोला, बोटेचौर-काल्चे सडक, सुर्खेत-दैलेख-महाबु सडकमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ।

तोकिएको समयभित्र अतिक्रमण नहटाइए कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवले जानकारी दिए। -रासस