काबुल। अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन्।
अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन्। यूएसजीएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको बताएको छ।
भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए। एक एएफपी पत्रकारले कैयौँ घरको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन्। बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको महसुस गरिएको थियो। यी प्रान्तहरूको ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको छ। पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो।

भूकम्पबाट भएको क्षति र मानवीय क्षतिको विवरण तत्काल उपलब्ध हुनसकेको छैन। विशेषगरी हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन्।
अप्रिलमा बदख्शान प्रान्तमा गएको ५.८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो। देशका धेरै भाग प्रभावित भएका थिए। त्यस्तै सन् २०२५ अगस्तमा देशको पूर्वी भागमा गएको ६.० म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू ध्वस्त पारेको थियो। दुई हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएकोे थियो। यसको केही सातापछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी २७ जनाको मृत्यु भएको थियो।
सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पहरूले सयौँको ज्यान लिएका थिए। हजारौँ घर ध्वस्त भएका थिए। युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन्।
पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो। अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ। -रासस/एएफपी