काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशीविदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित राप्रपा कार्यकर्ता भेलामा उनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन्।
उनले केहीले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे। पछिल्लो चुनावमा विघटित संसद्मा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीका रूपमा कायमै रहेको उनले बताए।

अध्यक्ष लिङ्देनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर कांग्रेस‚ कम्युनिस्टहरूजस्तै भएकाले देशलाई विकल्प दिन एकमात्र पार्टी राप्रपा मात्रै भएको धारणा राखे। उनले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताए।
साथै उनले संसारमा ९३-९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको भन्दै मुलुक हाँक्न उमेरले कुनै प्रभाव नपार्ने धारणा राखे।