१३ असार २०८३
अ+
अ-

काठमाडौँ । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्पपछि उद्धार कार्यका क्रममा २० वर्षमुनिका राष्ट्रिय टोलीका खेलाडी यिमभर्ट बेरोटेरानको मृत्यु भएको पुष्टि भएको छ।

भेनेजुएला फुटबल महासंघ (एफभीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षीय फरवार्ड बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पुरिएका उनको शव उद्धारकर्ताले करिब २४ घण्टापछि फेला पारेका थिए । दुई दिनयता आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९ सय नाघिसकेको बताइएको छ।

बेरोटेरान घरेलु क्लब युनिभर्सिदाद सेन्ट्राल (यूसीभी) बाट खेल्थे । उनले गत डिसेम्बरमा क्लबलाई पहिलो पटक भेनेजुएलाको लिग उपाधि जिताउन योगदान दिएका थिए भने सोही सिजन राष्ट्रिय कप पनि जितेका थिए।

त्यसै महिनामा उनले कतारमा आयोजित फिफा यू–१७ विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए, जहाँ टोली अन्तिम ३२ सम्म पुगेको थियो।

एफभीएफले विज्ञप्तिमा भनेको छ, ‘भेनेजुएला फुटबल महासंघ यिमभर्ट बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ। आज भेनेजुएलाली फुटबलले देशको जर्सीलाई गर्व, समर्पण र प्रेमका साथ प्रतिनिधित्व गर्ने एक प्रतिभाशाली युवा गुमाएको छ। उनको असामयिक निधनले सम्पूर्ण भिनोटिन्टो परिवारलाई स्तब्ध बनाएको छ।’

महासंघले बेरोटेरानका परिवार, साथीभाइ, टोलीका सदस्य, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उनको योगदान सधैं स्मरणीय रहने जनाएको छ।