काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

पेट्रोल प्रतिलिटर २०, डिजेल ३० तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटका आधारमा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले समायोजन गरेको जनाएको हो।

आज मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो।

यसैगरी हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ। अब पेट्रोल १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँमा पाउन सकिनेछ। यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर २६५ अमेरिकी डलर घटेको छ।

साथै खाना पकाउने (एलपी) ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ कायम भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा छ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधारस्वरूप इन्डियन आयल कर्पोरेसनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ। मंगलबारै बसेको निगम सञ्चालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो।

निगमले अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार आगामी दिनमा पनि मूल्य समायोजन हुने संकेत दिएको छ।