सेयरबजार
राताम्मे बनेको सेयरबजारमा झन्डै साढे तीन अर्बको कारोबार
काठमाडौँ। अघिल्लो साताभर ओरालो यात्रा समाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यो साता पनि ओरालो यात्रा नै तय गरेको छ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से दोहोरो अंकले ओरालो लागेको हो। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २४.६३ अंकले घटेको हो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
हिजो (सोमबार) भने नेप्से १६.५४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९३ प्रतिशतले घट्दै नेप्से २६०८.३३ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले घटेर ४५२.७९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.८४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ प्रतिशतले घटेको छ।
सेयरबजारमा मंगलबार ३६५ कम्पनीको ७९ हजार २८६ पटकको कारोबारमा ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भयो। सोमबार भने दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ३५ कम्पनीका मात्र सेयरमूल्य बढे। २३५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक ओरालो लागे।

राताम्मे बनेको नेप्सेमा मंगलबार वाणिज्य बैंक ०.७३‚ विकास बैंक ०.०१‚ फाइनान्स १.००‚ होटेल तथा पर्यटन ०.९३‚ जलविद्युत् १.४३‚ लगानी ०.७४‚ जीवन बिमा ०.५६‚ उत्पादन तथा प्रशोधन १.२० र लघुवित्त समूहको सूचक ०.५६ प्रतिशतले ओरालो लागे। यस्तै म्युचुअल फन्ड ०.३१‚ निर्जीवन बिमा ०.६१‚ अन्य १.३१ र व्यापार समूहको उपसूचक १.७४ प्रतिशले घटेको छ।
नेप्सेमा मंगलबार स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनीका लिमिटेडका लगानीकर्ताले भने १४.०३ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको १३ करोड ३९ लाख चार हजार १४८ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी धनवृद्धि योजना (म्युचुअल फन्ड) अगाडि रह्यो। मंगलबार यसको सात लाख ३४ हजार ४५० युनिट कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट १०.७९ रुपैयाँ कायम रह्यो।