तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको भौतिक प्रगति ८६ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत पुगेको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको पुल चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण नसकिएकाले थप ३०० दिन म्याद थपको प्रस्ताव गरिएको छ।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुर्याउने तयारी भइरहेको छ।
केही दिनअघिसम्म दैनिक १००–१२० जना कामदार निर्माणस्थलमा खटिए पनि हाल घरायसी कारणले केही कामदार बाहिरिएकाले कार्यरत जनशक्तिमा केही कमी आएको उनले बताए।
नयाँ पुलमा छ वटा स्पान रहनेछन्। पुल निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा एएनके–जेडआईईसीसँग एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। प्रारम्भिक चरणमा डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माण कार्य करिब छ महिना प्रभावित भएको थियो।
हाल सञ्चालनमा रहेको पुरानो दुई लेनको पुल ३७० मिटर लामो छ। त्यसबाट करिब ५० मिटर दूरीमा आधुनिक आर्क डिजाइनमा आधारित नयाँ चार लेनको पुल निर्माण भइरहेको हो। आधुनिक संरचना र आकर्षक डिजाइनका कारण यो पुल पृथ्वीराजमार्गकै सबैभन्दा आकर्षक र आधुनिक पुलमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
मुग्लिन–पोखरा सडक विस्तार परियोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा स्तरोन्नति भइरहेको छ। परियोजनाअन्तर्गत पूर्वी खण्डको निर्माण कार्य ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको निर्माण कार्य ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा अघि बढिरहेको छ।
तस्बिरहरू :