सुर्खेत। डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १३ जना घाईते भएका छन्।
जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप मौरेलेखमा दुर्घटनामा परेको हो।
आइतबार दिउँसो करिब २ बजेतिर जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ। घाइतेहरुको उपचारका लागि जुम्ला पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुम्लाको चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ गईरहेको छ।
दुर्घटनाको बारेमा विस्तृत विवरण आउन भने बाँकी छ ।