अपराध
कारागार र ठेक्कापट्टाबाट असुलेको रकमबाट दुई वर्षमै नौ ठाउँमा करिब १५ रोपनी जग्गा श्रीमतीको नाममा
११ असारमा पक्राउ परेका अभिषेक गिरी उच्च अदालत विराटनगरको आदेशबाट छुट्नासाथ सोमबार (२२ असार) राति फेरि प्रहरीको नियन्त्रणमा परे। यसपटक उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली विराटनगर पुगेको थियो। पक्राउलगत्तै ४८ वर्षीय गिरीलाई रातारात काठमाडौँ ल्याइयो। मंगलबार जिल्ला अदालत काठमाडौँले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा गिरीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
सीआईबीको अनुसन्धान एक निर्माण व्यवसायीको जाहेरीबाट सुरु भएको हो। हेटौँडास्थित श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठले गिरीविरुद्ध ज्यान मार्ने धम्की दिएर आपराधिक लाभ लिएको जाहेरी सीआईबीमा दिएका छन्। “गिरीले सडकका एक ठेकेदारलाई ठेक्का मिलाइदिने भन्दै असुली गरेको आरोप छ। पछि ठेक्का नै नमिलाई उल्टै ठेकेदारलाई ज्यान मार्ने धम्की दिँदै असुलेको जाहेरी छ,” सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबरा भन्छन्।
ठेक्काको प्रलोभन, धम्की दिएर सम्पत्ति कब्जा
सीआईबीका प्रवक्ता जबराका अनुसार अनुसन्धानले गिरीले सरकारी ठेक्काको प्रलोभनलाई माध्यम बनाएर विश्वास जित्ने, त्यसपछि धम्की, दबाब र आर्थिक नियन्त्रणमार्फत पीडितको सम्पत्ति कब्जा गर्ने शैली अपनाएको देखिन्छ। यही आधारमा उनीविरुद्ध ठगी तथा आपराधिक लाभमा अहिले अनुसन्धान भइरहेको छ। गिरीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइने जबरा बताउँछन्।
प्रारम्भिक अनुसन्धानअनुसार गिरी र श्रेष्ठबीच डेढ वर्षअघि चिनजान भएको थियो। त्यसबेला श्रेष्ठको कम्पनी मोरङमा हुलाकी राजमार्ग निर्माणमा सक्रिय थियो। चिनजान हुँदा गिरीले आफू राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध भएको व्यक्ति भन्दै नजिकिएका थिए। यस क्रममा उनले सरकारी आयोजनाको ठेक्का मिलाइदिने आश्वासन दिएका थिए।

अभिषेक गिरी।
विश्वास जितेपछि गिरीले श्रेष्ठको एकल ठेक्का टुक्र्याए। रतुवा–केशलिया हुलाकी सडक र विराटनगर–घिनाघाट सडक आयोजनामा आफ्नो कम्पनी आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमा पेटी ठेक्का घुसाए। “तर ठेक्का सञ्चालन गर्नुको साटो गिरीले व्यवसायीलाई आर्थिक दबाब बढाउँदै लगे। कम्पनीका महँगा उपकरण र सवारीसाधन क्रमशः आफ्नो नियन्त्रणमा लिएको जाहेरी छ,” सीआईबीका प्रवक्ता जबरा भन्छन्।
सम्पत्ति कब्जा गर्ने क्रममा गिरीले हिताची–११० एक्स्काभेटर, ना६ख १४०६, ना८ख ५९२७ र ना६ख ७४५७ नम्बरका टिपर कवाडीमा बिक्री गरिदिएको आरोप जाहेरीमा छ। अन्य उपकरण र सवारीसाधन पनि धम्की र त्रास देखाएर कब्जामा राखिएको दाबी गरिएको छ।
जाहेरीअनुसार गिरी सम्पत्ति कब्जामा मात्र रोकिएनन्। उनले श्रेष्ठ र उनका परिवारलाई निरन्तर ज्यान मार्ने धम्की दिँदै थप रकम र सम्पत्ति आफ्नो नाममा सार्न दबाब बढाए। सोही दबाबका बीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-७ स्थित २१७.०१ वर्गमिटर जग्गा आफ्नी श्रीमती सोनु आचार्यको नाममा राजीनामा पास गराएको आरोप गिरीलाई लागेको छ। पीडितका अनुसार उक्त जग्गा ६ महिनाअघि जबर्जस्ती नामसारी गरिएको छ।
जाहेरीमा उल्लेख गरिएका आरोपअनुसार गिरी ठगी वा धम्कीमा सीमित छैनन्, संगठित आर्थिक अपराध, सम्पत्ति हडप्ने योजनाबद्ध गतिविधि र गैरकानुनी सम्पत्ति आर्जनमा सक्रिय छन्। प्रहरीले गिरी र उनीसँग जोडिएको सञ्जाल खोतल्दै छ।
सीआईबीका अनुसन्धान अधिकृतका अनुसार गिरीले श्रेष्ठलाई विभिन्न समयमा खाली चेकमा हस्ताक्षर गर्न बाध्य बनाएका थिए। त्यसमध्ये पाँच करोड ४५ लाख १० हजार ४०५ रुपैयाँको एउटा चेक चन्द्रकुमार शाहको नाममा काट्न लगाइएको थियो। उक्त चेक तीन पटक बाउन्स गराएर त्यसैलाई आधार बनाई श्रेष्ठविरुद्ध मोरङ प्रहरीमा उजुरी दर्ता गराइएको अनुसन्धानमा खुलेको छ।
यति मात्र होइन, श्रेष्ठले अन्य व्यक्तिबाट उठाउनुपर्ने एक करोड ५० लाख रुपैयाँमध्ये ५० लाख गिरीले आफैँले असुलेको आरोप छ। विनोद सिंह र चन्द्रकुमार गुप्ताको नाममा चेक काट्न लगाएर उक्त रकम आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ।
जाहेरीमा उल्लेख गरिएका आरोपअनुसार गिरी ठगी वा धम्कीमा सीमित छैनन्, संगठित आर्थिक अपराध, सम्पत्ति हडप्ने योजनाबद्ध गतिविधि र गैरकानुनी सम्पत्ति आर्जनमा सक्रिय छन्। प्रहरीले गिरी र उनीसँग जोडिएको सञ्जाल खोतल्दै छ। “गिरीले ठेक्का पारिदिने बहानामा आपराधिक विश्वासघात गरी पीडितको सम्पत्ति हडपेको देखिन्छ,” जबरा भन्छन्, “गिरी र उनको सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको छ।”
कैदीको श्रम र भत्ताबाट रकम असुली
विराटनगर महानगरपालिका-८ मधुमाराका ४८ वर्षीय गिरी १३ असारमा पक्राउ परेका थिए। प्रहरीले मोरङ कारागारका कैदीबन्दीसँग असुली धन्दा चलाएको आरोपमा गिरीलाई पक्राउ गरेको थियो। पक्राउपछि गिरीले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। सोही निवेदनका आधारमा उच्च अदालतले गिरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
यसपछि गिरीलाई सीआईबीले पक्राउ गरी काठमाडौँ ल्याएको छ। मोरङ प्रहरीले कारागारका कैदीबन्दीबाट असुली गरेको रकमको लेखाजोखा गरिरहेको छ। प्रहरीले गिरीविरुद्ध अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ। अनुसन्धान अनुसार गिरीले चार वर्षदेखि कैदीले बुनेका मुढा र गलैँचा बिक्रीबापतको एक करोड सात लाख रुपैयाँ असुलेको भेटिएको छ। उक्त रकम गिरी र उनका सहयोगी सञ्जयकुमार मण्डलको खातामा जाने गरेको देखिएको छ। मण्डल विराटनगर हाटखोलाका हुन्।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा र गलैँचा काठमाडौँका व्यापारी विजय साह र उनका छोरा अभिषेक साह तथा चितवनका व्यापारी डिल्लीराम पन्तले खरिद गर्ने गरेका थिए। उनीहरूले सामान खरिद गरेबापतको भुक्तानी गिरी र सहयोगी मण्डलको खातामा पठाउँथे। व्यापारी साहले ५५ लाख र पन्तले ५२ लाख रुपैयाँ गिरी र उनले तोकेका व्यक्तिहरूको खातामा हालिदिएको प्रहरी अनुसन्धानमा देखिएको छ।
गिरीले आपराधिक धन्दाबाट आर्जित सम्पत्ति जग्गाजमिन खरिद गर्न खर्च गरेको प्रहरी अनुसन्धानले देखाएको छ। कारागार तथा ठेक्कापट्टाबाट असुलेको रकमबाट दुई वर्षमै गिरीले नौ ठाउँमा जग्गा जोडेको प्रहरीले फेला पारेको छ।
बैंक भौचरअनुसार उक्त रकम गिरीको नेपाल इन्भेष्टमेण्ट बैंक, उनका सहयोगी मण्डलको सिटिजन्स बैंक र कामना सेवा विकास बैंकको खातामा जम्मा भएको देखिएको छ। विवरणअनुसार सन् २०२६ मा जुन महिनासम्म गिरी र उनका सहयोगीको खातामा २४ लाख रुपैयाँभन्दा बढी जम्मा भएको देखिएको छ।
व्यापारी साहले एनएमबि बैंकको खातामा पटक पटक ठूलो रकम पठाएको देखिएको छ। उनले ३ अप्रिल २०२४ मा चार लाख ११ हजार ३८० र मार्च २२ मा चार लाख ४९ हजार रुपैयाँ पठाएका छन्। यस्तै, कनेक्ट आईपीएसमार्फत १५ फेब्रुअरीमा चार लाख ५४ हजार ५०० र ४ मार्चमा चार लाख ३१ हजार ४८० रुपैयाँ कुमारी बैंकमार्फत हालिदिएको भौचर भेटिएको छ।
११ जुन २०२४ मा सञ्जयकुमार मण्डलको सिटिजन्स बैंकको खातामा चार लाख ४९ हजार ३६० रुपैयाँ जम्मा भएको देखिन्छ। उक्त रकम व्यापारी विजय साहका छोरा अभिषेकले जम्मा गरिदिएको भेटिएको छ। यो रकम मुढा बिक्री र कैदीबन्दीको गर्मी भत्ताबापतको असुली भएको कारागारको ‘ए ब्लक’ आन्तरिक प्रशासनको दाबी छ।
गिरी र मण्डल पछिल्लो समय ठेक्कापट्टामा समेत साझेदार थिए। मण्डल नेपाली कांग्रेस कटहरी-२ का वडा सभापतिसमेत हुन्। यस विषयमा व्यापारी साहले थप प्रतिक्रिया दिन अस्वीकार गरे। “मैले अनुसन्धान गर्ने निकायमा सबै कुरा बोलिसकेको छु,” साह भन्छन्।

अभिषेक गिरी।
कैदीबन्दीको कमाइ असुलेको सम्बन्धमा थप विवरण संकलन गरिरहेको प्रहरी उपरीक्षक कटवाल बताउँछन्। “कैदीबन्दीको रकम असुलीमा अभिषेक गिरीका सहयोगीहरूको पनि प्रत्यक्ष संलग्नता देखिएको छ, अन्य तथ्य पनि खुल्दै जानेछन्,” उनी भन्छन्।
मोरङ कारागारमा रहेका एक हजार १९९ कैदीबन्दीमध्ये करिब ५०० जनाले मुढा बनाउने र १०० जनाले गलैँचा बुन्ने गर्छन्। उनीहरूले दिनभर श्रम गरेर तयार पारेका सामग्री काठमाडौँ र चितवनका बजारमा बिक्री गर्ने गरिएको छ। कारागार प्रशासनका अनुसार महिनामा औसत एक ट्रक मुढा बिक्री हुँदा तीनदेखि चार लाख रुपैयाँ संकलन हुन्थ्यो।
१२ असारमा मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई जनही २५ सयका दरले वितरण गरिएको १३ लाख ६० हजार रुपैयाँ भत्ता पनि गिरीका सहयोगीहरूले जबर्जस्ती संकलन गरेको आरोप छ। यस असुलीमा मण्डलसँगै विनोद सिंह, तरकारी आपूर्तिकर्ता विजय कामत र केही कारागार कर्मचारीको समेत संलग्नता देखिएको प्रहरीको दाबी छ।
दुई वर्षमै नौ ठाउँमा जग्गा
गिरीले आपराधिक धन्दाबाट आर्जित सम्पत्ति जग्गाजमिन खरिद गर्न खर्च गरेको प्रहरी अनुसन्धानले देखाएको छ। कारागार तथा ठेक्कापट्टाबाट असुलेको रकमबाट दुई वर्षमै गिरीले नौ ठाउँमा जग्गा जोडेको प्रहरीले फेला पारेको छ।
गिरीले जग्गा श्रीमती सोनु आचार्यको नाममा राखेको पाइएको छ। प्रहरीले २०८० देखि २०८२ को अवधिमा गिरीले जोडेको सम्पत्ति खोज्दा जग्गाजमिन भेटेको हो।
काठमाडौँको बूढानीलकण्ठ क्षेत्र महँगो र सुविधायुक्त क्षेत्र मानिन्छ। मालपोत कार्यालयको अभिलेखअनुसार काठमाडौँको साबिक विष्णु गाविस हाल बूढानीलकण्ठ नगरपालिका-७ को कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर-जग्गा सोनु आचार्यको नाममा एकलौटी छ। उक्त जग्गा २९ कात्तिक २०८२ मा लिखत पास भई आचार्यको नाममा दर्ता भएको देखिन्छ।
यस्तै, मोरङको साबिक कटहरी गाविस हाल कटहरी गाउँपालिका-४ मा रहेको साबिक कित्ता नम्बर १९२ को कुल १८२२.३७ वर्गमिटर क्षेत्रफल भएको जग्गा सोनु आचार्यको नाममा पास भएको छ। २५ मंसिर २०८० मा उक्त जग्गा आचार्यको नाममा पास भएको देखिएको हो। गिरी ५ चैतमा कारागारबाट छुटेका थिए। उनले सोही महिना आचार्यसँग दोस्रो विवाह गरेका थिए। विवाह गरेको केही महिनामै गिरीले उनको नाममा आवासीय प्रयोजनको ठूलो जग्गा खरिद गरेको देखिएको हो।
यसैगरी, मोरङकै बबियाबिर्ता-३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा आचार्यको नाममा पास भएको छ। २७ असोज २०८२ मा उक्त जग्गा आचार्यको नाममा नामसारी भएको मालपोतको अभिलेख छ। सोही वडामा रहेका कित्ता नम्बर १०८, १११, १०५ र १०६ का अन्य जग्गा पनि आचार्यको नाममा दर्ता भएका छन्। यी जग्गा बैंक तथा वित्तीय संस्थाहरूबाट तेस्रो पक्षले लिलाम सकार गरेपछि आचार्यको नाममा ल्याइएका छन्। यसरी बैंकको लिलामी प्रक्रियामा सहभागी भई करोडौँ मूल्यका जग्गा एकलौटी स्वामित्वमा ल्याउँदाको आर्थिक स्रोत गिरी नै रहेको प्रहरीको भनाइ छ।
मोरङकै विराटनगर महानगरपालिका-६ मा रहेको कित्ता नम्बर ६५८२ को ३३६.६३ वर्गमिटर क्षेत्रफल भएको अर्को जग्गा पनि आचार्यको नाममा पास भएको छ। १९ चैत २०८२ मा उक्त जग्गा आचार्यको स्वामित्वमा आएको छ। धनकुटा जिल्लाको साबिक कार्कीछाप हाल धनकुटा नगरपालिका-५ मा रहेको कित्ता नम्बर १२६३ को ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गा पनि आचार्यकै नाममा छ। उक्त जग्गा २१ साउन २०८२ मा आचार्यको नाममा पास भएको देखिन्छ। यी सबै सम्पत्तिको खरिदमा प्रयोग भएको रकमको स्रोत, बैंकिङ कारोबार, जग्गा खरिदमा संलग्न व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको कोणबाट समानान्तर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
यो पनि पढ्नुहोस्