काठमाडौं। अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै ३–२ को जित निकालेको छ।
खेलको ७८औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेपछि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
इजिप्टका लागि १५औँ मिनेटमा यासिर इब्राहिमले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थपेपछि अर्जेन्टिनाको यात्रा अन्तिम १६ मै टुंगिने देखिएको थियो।
तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे। त्यसपछि कप्तान लियोनल मेसीले ८३औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए। निर्धारित समयपछि थपिएको इन्जुरी समयको ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए।
यससँगै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको छ। खेलका क्रममा मेसीले पाएको पेनाल्टी भने गोलमा परिणत गर्न सकेनन्। निर्धारित ९० मिनेटपछि रेफ्रीले सात मिनेट इन्जुरी समय थपेका थिए।