समाज
सरकारले समस्या समाधानको पहल नगरेको भन्दै मिटरब्याजपीडितले थाले जनकपुरको तिरहुतियादेखि काठमाडौँसम्म पैदलयात्रा
जनकपुरधाम। प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो पहिलो चुनावी आमसभामा जनकपुरको तिरहुतियागाछीबाट भनेका थिए, “अधिकार माग्न अब काठमाडौँ जानु पर्दैन, पशुपति वा स्वयम्भू दर्शन गर्न मात्र जानुहोला।”
तराई-मधेसमा देखिएको मिटरब्याजलगायत समस्या थाहा भएकाले सरकार बनेपछि त्यसलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्ने उनको वाचा थियो।
तर, गठन भएको १०० दिन पुगिसक्दा पनि सरकार समस्या समाधानको बाटो नहिँडेको भन्दै ध्यानाकर्षण गराउन मिटरब्याजपीडितहरू २५ असारमा तिरहुतियागाछीबाट काठमाडौँतर्फ पैदलयात्रामा निस्किएका छन्। यात्रामा तराई-मधेससहित विभिन्न जिल्लाका ५०० हाराहारी पीडित सहभागी छन्।

मिटरब्याजपीडितहरूको तेस्रो (पैदल) न्यायमार्च कार्यक्रमका सहभागीहरू।
“कुनबेला घरजग्गा लिलाम हुन्छ, कुनबेला पक्राउ पुर्जी आउँछ, थाहा छैन,” पैदलयात्रामा सहभागी एक पीडित भन्छन्, “हामी हरेक दिन डरमै बाँचिरहेका छौँ। त्यसैले प्रधानमन्त्रीलाई वाचा सम्झाउन काठमाडौँ जाँदै छौँ।”
मिटरब्याजको पीडा
जनकपुरधाम उपमहानगरपालिका-४ का सर्वजित राय मिटरब्याजको पीडा भोग्नेमध्ये एक हुन्। साहुकारबाट १३ लाख ८७ हजार रुपैयाँ ऋण लिए पनि मिटरब्याज बुझाउँदा बुझाउँदा दुई वर्षभित्र २२ लाख ४४ हजार रुपैयाँ तिर्नुपरेको उनको दाबी छ। पैसा तिरिसक्दा पनि भर्पाई नदिई उल्टै आफूविरुद्ध अदालतमा लेनदेनको मुद्दा दायर भएको उनको भनाइ छ। उनका अनुसार रकम लिँदा साहुकारले आफ्नी श्रीमती र आफन्तका नाममा तीन वटा तमसुक बनाएका थिए।
“पैसा लिने बेला लिन्छन्, तर भर्पाई दिँदैनन्,” राय भन्छन्, “पछि थोरै मूल्यांकन गरेर घरजग्गा लिलाम गराउने गरिन्छ। मेरो जस्तै धेरै मिटरब्याजपीडितको कथा यही हो।”
धनुषाको मिथिला बिहारी नगरपालिका-७ की फुलो कापरले श्रीमान्लाई वैदेशिक रोजगारीका लागि कुवेत पठाउन करिब एक लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। वित्तीय संस्थामा धितो र कागजी प्रक्रियाको झन्झट भएकाले गाउँकै एक व्यक्तिको सल्लाहमा साहुकारबाट पैसा लिएको उनी बताउँछिन्।

मिटरब्याजी साहुकाे आक्रमणबाट श्रीमान् मारिएको सम्झिएर भावविह्वल श्यामादेवी ठाकुर।
केही वर्षपछि दुई लाख रुपैयाँ तिर्न खोज्दा साहुकारले रकम लिन नमानेको उनको दाबी छ। श्रीमान् कुवेतबाट बिरामी भएर फर्किएपछि श्रीमान्को कमाइ र आफूले मजदुरी गरेर जोगाएको पैसा जोडेर ऋण तिर्न खोज्दा साहुकारले चार लाख रुपैयाँ मागेकाले दिन नसकेको उनको भनाइ छ। त्यसपछि साहुकारले दायर गरेको मुद्दा आफूले खेपिरहेको उनी बताउँछिन्।
“खानै समस्या छ। श्रीमान् बिरामी हुनुहुन्छ, औषधिमुलोमा पैसा चाहिन्छ,” कापर भन्छिन्, “त्यसमाथि साहुको यातना छ। हामी गरिबको कुरा कसले सुन्ने?”
त्यस्तै समस्या झेलिरहेकी छिन्, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरकी कुशमीदेवी मलिक डोले। उनले छोरीको विवाहका लागि दुई लाख रुपैयाँ ऋण साहुकारसँग लिएकी थिइन्। श्रीमान्ले वैदेशिक रोजगारी गरेर कमाएको रकमबाट उनले ऋण तिर्न पटक पटक प्रयास गरिन्। पहिले ६ लाख र पछि सात लाख रुपैयाँ लिएर जाँदा पनि साहुकारले रकम लिन नमानेको उनको दाबी छ। त्यसपछि साहुकारले मुद्दा हालेर माइती गाउँमा रहेको नौ धुर जग्गा र घडेरी लिलाम गराएको उनको आरोप छ।
“म अहिले पनि पैसा तिर्न तयार छु,” उनी भन्छिन्, “तर उनीहरू पैसा लिन चाहँदैनन्। उनीहरूको नियतमै खोट छ। कागजको म्याद सकिएपछि जग्गा हत्याउने काम भइरहेको छ।”

कुशमीदेवी मलिक डोले।
धनुषाधामस्थित मिथिला बिहारी नगरपालिका-७, कचुरीकी राजकुमारी देवीको पीडा पनि उस्तै छ। उनले छोरालाई वैदेशिक रोजगारीमा पठाउन गाउँकै साहुकारसँग अढाई लाख रुपैयाँ लिएकी थिइन्। तीन वर्षपछि सात लाख रुपैयाँ लिएर ऋण फिर्ता गर्न जाँदा पनि साहुकारले पैसा लिन नमानेको उनको भनाइ छ।
अहिले अदालतमार्फत जग्गा लिलाम गराई घर खाली गर्न सूचना आएको राजकुमारी बताउँछिन्। दुःख गरेर जोडेको १० धुर जग्गाबाट निस्कनुपर्ने अवस्था आएको भन्दै उनी भन्छिन्, “पैसा दिन खोज्दा पनि लिँदैनन्। घरजग्गा नै खोसिएपछि हामी कहाँ जाने? खाना पनि रुच्न छाडेको छ। दुःख गरेर जोडेको त्यही घडेरी पनि गयो भने हाम्रो बास कहाँ हुन्छ?”

राजकुमारी देवी।
‘झुटो आश्वासन लिएर फर्किन्नौँ’
मिटरब्याजी साहुकारको अत्याचारविरुद्ध पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन यसअघि पनि पैदलै काठमाडौँ पुगेर माइतीघर मण्डलमा धर्ना दिएका थिए। सरकारसँग पटक पटक सम्झौता पनि भएको थियो। तर, समस्या समाधान नभएको पीडितहरूको दाबी छ।
“अब कति पटक यही समस्या लिएर काठमाडौँ धाउने?” पैदलयात्रामा सहभागी राजकुमारी भन्छिन्, “यसपटक झुटो आश्वासन लिएर फर्किन्नँ। समस्या समाधान नभई यही पीडा बोकेर घर फर्कने हिम्मत छैन।”
तिरहुतिया गाछीमा प्रधानमन्त्री शाहले गरेको वाचा सम्झिँदै उनी भन्छिन्, “उहाँले ‘मलाई जिताउनुस्, म काम गर्न चाहन्छु, तपाईंहरूको समस्या समाधान गर्छु’ भन्नुभएको थियो। सरकार बन्यो तर हाम्रो दुःख उस्तै छ। उल्टै अड्डा र अदालतमा मुद्दा बढेका छन्।”

परिवर्तनको नारा लिएर आएको सरकारले पनि पीडितहरूको समस्या समाधानमा गम्भीर पहल नगरेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकी अगुवा सरस्वती मिश्रको गुनासो छ। “तेस्रो पटक आशा लिएर मार्च गर्दै काठमाडौँ जाँदै छौँ,” मिश्र भन्छिन्, “यसपटक हामी आश्वासन होइन, न्याय चाहन्छौँ। सरकारले हामीलाई फेरि निराश बनाएर नपठाओस्।”
मिटरब्याजलाई सामान्य लेनदेनका रूपमा मात्रै बुझ्नाले समस्या समाधान हुन नसकेको मिश्रको तर्क छ।
“मिटरब्याज केवल आर्थिक कारोबार होइन, गरिबलाई गरिने वित्तीय सामन्तवाद र मानसिक हिंसा हो,” उनी भन्छिन्, “यसको स्थायी समाधानका लागि ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच सहज बनाउनुपर्छ र अपराधीलाई कडा कानुनी कारबाही गर्नुपर्छ।”

मिटरब्याजपीडितहरूको तेस्रो (पैदल) न्यायमार्च कार्यक्रमको उद्घाटन समारोह।
आन्दोलनका अध्यक्ष अवधेश कुशवाहा यात्रा अघि बढ्दै जाँदा विभिन्न जिल्लाबाट थप पीडितहरू जोडिने बताउँछन्। काठमाडौँ पुगेपछि धर्ना कार्यक्रम गर्ने र सरकारसँग तत्काल समाधान माग गर्ने उनको भनाइ छ। “हामीले आन्दोलन सुरु गरेका छौँ। बाटोमा अरू साथीहरू जोडिँदै जानुहुन्छ,” कुशवाहा भन्छन्, “हरेक पटक सम्झौता हुन्छ, तर कार्यान्वयन हुँदैन। यही कारण समस्या जस्ताको तस्तै छ। यसपालि सरकारलाई त्यसो नगर्न आग्रह गर्छौं।”
साहुकारको दबाबकै कारण कतिपय पीडित परिवारले विस्थापन, मुद्दामामिला र मानसिक तनावको अवस्था झेलिरहनुपरेकाले तत्काल समस्या समाधान गर्न उनले सरकारसँग आग्रह गरेका छन्। “सरकार अब पनि गम्भीर भएन भने हामी थप सशक्त आन्दोलन गर्न बाध्य हुनेछौँ,” उनी भन्छन्।