काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनाव बिहीबार पनि थप चर्किएको छ। दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहँदा विश्वको प्रमुख समुद्री व्यापारिक मार्ग होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने जहाजको आवागमन उल्लेख्य रूपमा घटेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्।

अमेरिकाले होर्मुज नजिकका सैन्य अड्डासहित ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। यता, इरानले पछिल्ला दुई दिनमा भएका अमेरिकी आक्रमणका कारण १४ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुशहर परमाणु ऊर्जा केन्द्र आसपासका केही क्षेत्रमा पनि आक्रमण भएको छ। प्रान्तका उपगभर्नरलाई उद्धृत गर्दै सार्वजनिक गरिएको उक्त विवरणबारे अमेरिकाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

आक्रमणको जवाफस्वरूप इरानले कुवेत, बहराइन र कतारस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ।

यसबीच, इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको छ दिनसम्म चलेको अन्त्येष्टि कार्यक्रमपछि अन्तिम संस्कार सम्पन्न भएको छ। उत्तरपूर्वी इरानको मशहद शहरमा हजारौं नागरिक इरानी झण्डासहित सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा केही सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध धम्कीपूर्ण सन्देश लेखिएका पोस्टर पनि प्रदर्शन गरेका थिए।

इरानका अनुसार अयातोल्लाह अली खामेनीको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणका क्रममा मृत्यु भएको थियो।