काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २८ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र शनिबार पक्राउ गरिएको हो।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।