पोखरा। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ। पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा युवाहरूले शनिबार दिउँसो स्व:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीले गणेश नेपालीलाई न्यायको माग गर्दै सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।
प्रदर्शनकारीहरूले गणेश परियारलाई न्याय दे, जनतामाथिको शासन बन्द गर, गरिबको पेटमा लात हान्न पाइँदैन, बेरोजगार युवामाथिको ट्राफिक आतंक बन्द गर तथा बेरोजगार युवालाई निराशा र पीडामा धकेल्ने नीति र व्यवहारको अन्त्य गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेरोजगार युवाको समस्या समाधान गर्न माग गरेका थिए। मुगुको सोरु गाउँपालिका १ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। सख्त घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।