सुकुम्बासी
बाढीबाट बचाउन भन्दै राखिएको सरकारी आश्रयस्थल नै डुबेर ठाउँ सर्नुपर्दा विस्थापितहरू हत्तुहैरान
आइतबार दिउँसो कीर्तिपुरस्थित राधास्वामी सत्संग परिसरको होल्डिङ सेन्टरमा निताकुमारी बस्नेत मगर (४३) शुक्रबार मध्यरातिदेखिको बाढी र डुबानमा भिजेका छोराछोरीका किताब-कापी खोजिरहेकी थिइन्। अविरल वर्षापछि शुक्रबार राति करिब १ बजे कीर्तिपुर नगरपालिका-१० स्थित उक्त होल्डिङ सेन्टरमा बागमती नदीको बाढी पस्यो। निद्रामै रहेका सुकुम्बासी परिवारका १५४ जना ओछ्यानमै पानी पसेपछि ब्युँझिएका थिए। बाहिर निरन्तर वर्षा भइरहेकाले उनीहरूसँग सुरक्षित ठाउँतर्फ जाने कुनै विकल्प थिएन।
बाढी पसेपछि महानगरपालिका, प्रहरी र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले कीर्तिपुर होल्डिङ सेन्टर खाली गरायो। ती सुकुम्बासीलाई सुरक्षाकर्मीले शनिबार र आइतबार गरी भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा लगेका छन्। तिनैमध्येकी निताकुमारी श्रीमान् र छोरीहरूसहित आइतबार कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमै फर्केर आफ्नो झिटीगुन्टा खोजिरहेकी थिइन्।
सरकारले १२ वैशाखमा थापाथली नदी किनारबाट हटाएर यी परिवारलाई अस्थायी रूपमा कीर्तिपुरमा राखेको थियो। बाढीबाट जोगाउन भन्दै बस्तीमा डोजर चलाएर सारिएका सुकुम्बासीहरू सरकारी आश्रयस्थलमै डुबानमा परेपछि फेरि विस्थापित हुन पुगेका छन्। बस्तीबाट विस्थापन भोगेको दुई महिनामै बाढीको चपेटामा परेर कीर्तिपुरबाट खरिपाटी होल्डिङ सेन्टरमा सर्नुपरेपछि निताकुमारी दिक्क भएकी छिन्। अब सरकारी भर नपरी कोठा खोजेर बस्ने उनको योजना छ। “सरकारले २५ हजार रुपैयाँ दियो, अब सरकारको मुख हेर्दिनँ, आफैँ कोठा खोजेर बस्छु,” उनी भन्छिन्।

निताकुमारी बस्नेत मगरको परिवार।
गत १२ वैशाखमा थापाथली बस्तीबाट उठिबास लगाइएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेकी उनका चार छोरी र एक छोरा गरी पाँच सन्तान छन्। उनी थापाथलीमा घर र कार्यालयमा सरसफाइको काम गर्थिन्। मासिक २० हजार रुपैयाँ कमाउँथिन्। श्रीमान् खासै काम गर्न सक्दैनन्। “थापाथलीको छाप्रोमा बस्दा जसोतसो जिन्दगी चलेको थियो, कीर्तिपुर आएपछि उता गरिरहेको काम र कमाइ गुम्यो,” उनी भन्छिन्।
उनको रोजगारीमा मात्र अवरोध आएन, थापाथलीकै गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्ने चार छोराछोरीलाई कीर्तिपुरबाट आउजाउ गर्न टाढा भयो। एक छोरी एउटा सामाजिक संस्थाको सहयोगमा बानेश्वरमा कक्षा ११ मा पढ्न थालेकी थिइन्। यस्तो अपायकमा पनि अभ्यस्त भइरहेको बेला शुक्रबार रातिको बाढीले उनीहरूको दैनिकीको लय फेरि भताभुंग पारिदियो।
खरिपाटीको होल्डिङ सेन्टरमा बस्दा छोराछोरीको पढाइ ब्रिगिने भएकाले थापाथली क्षेत्रमै डेरा खोजेर बस्ने उनको तयारी छ। कोठा भाडा सोध्दै हिँडिरहेकी छिन्। “दुई वटा कोठा लिऊँ भनेको, १४ हजार रुपैयाँ पर्छ भनिरहेका छन्। जति पैसा भए पनि अब बस्नैपर्ने बाध्यता आइलागेको छ,” उनी भन्छिन्, “खरिपाटीको होल्डिङ सेन्टर नराम्रो थिएन, तर काम र छोराछोरीको पढाइ थापाथलीमै छ। सरकारको भात खान पाइन्छ भनेर मात्र उता बस्ने कुरा भएन।”
कक्षा ९ मा पढ्दै गरेकी छोरी विनिशालाई भक्तपुर गएपछि स्कुल छुट्ने चिन्ता लाग्यो। उनले आफ्ना बुवा-आमालाई स्कुल पढ्नकै लागि भए पनि थापाथली आउन दबाब दिइरहेकी थिइन्। “जे हुन्छ अब थापाथलीतिरै डेरा गरेर बसौँ, म पढ्छु, घरको काम सघाउँछु र सकेसम्म बाहिरको काम पनि गर्छु भनेर छोरीले भनी,” उनी भन्छिन्।

पानी पसेपछि होल्डिङ सेन्टरको अवस्था।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कीर्तिपुरमा डुबानमा परेका सुकुम्बासी परिवारमध्ये ४९ परिवारलाई भक्तपुर सारिएको छ। २७ परिवारका ७३ जनालाई खरिपाटीको विद्युत् प्राधिकरणमा र २२ परिवारका ६२ जनालाई बोडेको कृषि तालिम केन्द्रमा राखिएको छ। अन्य मानिस कतिपय आफ्नै हिसाबले बस्ने र कोठा खोज्ने भन्दै हिँडेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु बताउँछन्।
कीर्तिपुर नगरपालिका-१० का वडाध्यक्ष नरेश महर्जनका अनुसार राधास्वामी सत्संग बागमती किनारमै छ। पानी निकास जाने ठाउँ नपाएपछि बाढी सत्संगभित्र छिरेको थियो। “कतिपय मानिस आएर लत्ताकपडा खोजिरहेका छन्, सबै सुकुम्बासीलाई अन्यत्र सारिएको छ,” उनी भन्छन्।
अभियन्तालाई धरपकड
शनिबार होल्डिङ सेन्टरबाट सुकुम्बासी सार्ने क्रममा गृह मन्त्रालयबाट खटाइएका व्यक्ति कीर्तिपुर पुगेका थिए। जेन-जी अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)का ओजस्वी थापासहितको टोली होल्डिङ सेन्टर पुगेको थियो। थापा गृहमन्त्री सुधन गुरुङको सचिवालयमा काम गर्छन्।
होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँको अवस्था बुझ्न जेन-जी अभियन्ता माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायत पनि त्यहाँ पुगेका थिए। खड्का सुकुम्बासी आयोगका पूर्वउपाध्यक्षसमेत हुन्। तर, ओजस्वीसहितको टोलीले उनीहरूलाई धरपकड गर्ने क्रममा प्रहरीलाई सघाएको थियो।
त्यस क्रममा ओजस्वीले खड्कालाई ‘वाईसीएल’ लिएर आएको भन्दै दुर्व्यवहार गरेका थिए। प्रहरीले अभियन्ताहरूलाई धकेल्दै लछारपछार पारेर पक्राउ गरेको थियो।

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर। तस्बिर : नेपाल फोटो लाइब्रेरी
पक्राउ परेकामध्ये खड्का र थापा छुटिसकेका छन्। अन्सारी भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्। उनको नाक र आँखामा चोट लागेको छ। “त्यहाँ होहल्ला गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको हो, सबै जना रिहा भइसक्नुभएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई भन्छन्।
खड्काका अनुसार सुकुम्बासी बस्तीमा पुग्दा उनीहरूले खानेकुरा, बालबालिकाको पढाइ, परीक्षालगायत विषयमा कुराकानी गरेका थिए। त्यसको सुनिश्चितताका लागि आफूहरूले गृहमन्त्रीका प्रतिनिधि, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका व्यक्ति, प्रहरीलाई अनुरोध गरेको उनी बताउँछन्। “यस क्रममा सुकुम्बासीले केही दिन यतै बस्न पाए हुन्थ्यो भन्ने कुरा गर्नुभयो, बेलुका फेरि बाढी आउला, सरसफाइका लागि हामी वाईसीएल ल्याइदिन्छौँ भन्यौँ,” उनी भन्छन्, “त्यसपछि वाईसीएल रे भन्दै हामीलाई मन्त्रीका प्रतिनिधिले गालीगलौज गर्न थाले, यसै क्रममा हामीलाई पक्राउ गरियो।”
जेन-जी अभियन्ता पक्राउपछि गृह मन्त्रालय, मन्त्री गुरुङको सचिवालयमा कार्यरत व्यक्तिको भूमिकालाई लिएर विरोध भइरहेको छ। कानुन व्यवसायीहरूले समेत मानवअधिकार उल्लंघन भएको ठहरसहित सरकारी कदमको आलोचना गरेका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई अभियन्ता अन्सारीलाई भेट्न आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए। “कानुनी अधिकार प्राप्तिका लागि संघर्षरत एक विद्यार्थीको मानवअधिकार उल्लंघन भएको कारण समर्थन र सहानुभूति दिन म गएको थिएँ,” उनी भन्छन्, “सरकारले मानवअधिकार र अधिकार प्राप्तिको आन्दोलनमा रहेका अभियन्तालाई दमन गरेको छ।”