काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

अपराध

तेस्रो मुलुकबाट तरबुजाको बीउ (मगज) नेपाल भित्र्याएर भारत पठाउने धन्दा

३० असार २०८३
भद्रपुरमा बरामद मगज प्रहरीको गाडीमा राख्दै सुरक्षाकर्मी (इन्सेटमा मगज)। सबै तस्बिर : जिल्ला प्रहरी कार्यालय झापा
अ+
अ-

विराटनगर। विगतमा सुपारी, केराउ, मरिच र छोकडा तेस्रो मुलुकबाट नेपाल भित्र्याएर भारततर्फ अवैध रूपमा पठाउने समूहले पछिल्लो समय खरबुजा-तरबुजाको बीउ अर्थात् ‘मगज’ लाई नयाँ वस्तु बनाएको आशंका गरिएको छ।

सरकारले सुपारी, केराउ, मरिच र छोकडाको आयातमा कोटा प्रणाली लागु गरेपछि सुस्ताए भनिएका बिचौलियाहरूले मगजको आयात र कारोबार बढाएको प्रहरी र भन्सार अधिकारीहरूको विश्लेषण छ। तेस्रो मुलुकबाट वैधानिक रूपमा नेपाल भित्रिने र यहाँबाट लुकीछिपी भारततर्फ पुर्‍याइने वस्तुको सूचीमा पछिल्लो समय मगज देखिएको उनीहरूको दाबी छ।

यसको पछिल्लो उदाहरण आइतबार झापाको भद्रपुरमा बरामद भएको ठूलो परिमाणको मगज हो।

२८ असारमा झापाको भद्रपुर नगरपालिका-३, ज्ञानेचोकस्थित भीमलाल सुवेदीको घरमा लुकाएर राखिएको ९४८ बोरा अर्थात् ३७ हजार ९२० किलो मगज प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा उक्त परिमाणको मगज फेला पारेको हो।

मगज बरामद भएको  झापाको भद्रपुर नगरपालिका-३ स्थित भीमलाल सुवेदीको घर। 

प्रहरीका अनुसार बरामद मगजको बजार मूल्य तीन करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान छ। उक्त सामान भद्रपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले बताउँछन्।

प्रहरी अनुसन्धानका अनुसार काठमाडौँमा कार्यालय रहेका पशुपति एक्जिम प्रालि र कुबेर एक्जिम प्रालिले वीरगन्जबाट भद्रपुरस्थित ‘माँ दुर्गा अर्डर सप्लायर्स’ का नाममा विभिन्न मितिमा मगज पठाएका थिए। सीमानजिकै सामान थुपार्ने र अनुकूल समयमा भरियामार्फत भारत कटाउने योजना रहेको प्रहरीको प्रारम्भिक विश्लेषण छ।

भारतमा प्रतिबन्धपछि बढेको आयात

भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले जुन २०२३ देखि मगजको आयातमा परिमाणात्मक प्रतिबन्ध लगाएको छ। स्वदेशी किसान र उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले भारतले औद्योगिक प्रयोजनबाहेकको आयातमा कडाइ गरेपछि भारतीय बजारमा यसको अभाव देखिएको र मूल्य बढेको बताइन्छ।

मगज।

भारतका समुद्री बन्दरगाहमा कडाइ भएपछि तस्करहरूले नेपालको तुलनात्मक रूपमा खुकुलो भन्सार प्रक्रिया र खुला सिमानालाई प्रयोग गर्न थालेको अधिकारीहरूको भनाइ छ।

नेपालमा वार्षिक करिब नौ मेट्रिक टन मात्र मगज खपत हुने सरकारी तथ्यांक रहेको अधिकारीहरू बताउँछन्। तर, भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १० महिनामै १७ हजार ३४७ टन मगज नेपाल भित्रिएको छ। यो परिमाण गत आर्थिक वर्षको तुलनामा करिब साढे १३ गुणा र आव २०८०/८१ को तुलनामा करिब साढे ३४ गुणा बढी हो।

प्रहरीले बरामद गरेको मगजको विवरण।

तारे होटलका भान्सा, बेकरी र मिठाईमा प्रयोग हुने बोक्रा छोडाएको बीउ अर्थात् मगजलाई केही व्यापारीले भन्सारमा ‘कृषि बीउ’ का रूपमा घोषणा गर्ने गरेको भन्सार अधिकारीहरूको भनाइ छ।

कृषि बीउका नाममा आयात गर्दा भन्सार महसुल करिब एक प्रतिशत मात्र लाग्छ। तर, खाद्य वस्तुका रूपमा मगज आयात गर्दा भ्याट र कृषि सुधार शुल्कसहित २४.३० प्रतिशतसम्म कर लाग्छ।

“करिब ९०० रुपैयाँ प्रतिकिलो पर्ने मगजलाई कृषि बीउ भन्दै न्यून भन्सार तिरेर भित्र्याइएको देखिन्छ,” भन्सारका एक अधिकारी भन्छन्, “नेपालमा यति ठूलो परिमाण न खेतीका लागि चाहिन्छ, न घरेलु खपतका लागि। यसको मुख्य गन्तव्य भारतीय बजार नै देखिन्छ।”

नेपालमा आयात हुँदा मगजको लागत प्रतिकिलो करिब २२० रुपैयाँ पर्ने व्यापारी स्रोत बताउँछन्। तर, भारतको उत्तर प्रदेश र बिहारका बजारमा अहिले प्रतिकिलो एक हजार २०० देखि दुईहजारसम्म बिक्री हुने गरेको छ।

त्यसैले सीमा कटाउन सफल हुँदा तस्करहरूले प्रतिकिलोमै हजार रुपैयाँभन्दा बढी नाफा निकाल्ने गरेको अधिकारीहरूको अनुमान छ। यही उच्च नाफाका कारण विगतमा सुपारी र केराउमा सक्रिय कारोबारीहरूको ध्यान अहिले मगजतर्फ गएको उनीहरूको भनाइ छ।

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा व्यावसायिक तरबुजा खेती करिब दुई हजार ५०० हेक्टरमा मात्र हुन्छ। त्यसको तुलनामा भन्सार तथ्यांकले देखाएको अर्बौं रुपैयाँको आयात र सीमावर्ती क्षेत्रमा भइरहेको बरामदले नेपाललाई ट्रान्जिट बनाएर हुने अवैध कारोबारको आकार बढेको संकेत गर्छ।

अस्वाभाविक आयात

भन्सार विभागका अनुसार चालु आवको वैशाखसम्म १० महिनामा दुई अर्ब ८४ करोड ६६ लाख रुपैयाँ बराबरको १७ हजार ३४७ टन मगज आयात भइसकेको छ।

परिमाणका आधारमा यो आयात गत आर्थिक वर्षभन्दा करिब साढे १३ गुणा र आव २०८०/८१ को भन्दा करिब साढे ३४ गुणा बढी हो।

विभागका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ३४५ टन मगज आयात भएको छ। त्यसपछि नाइजेरियाबाट पाँच हजार ११९ टन, सुडानबाट दुई हजार ८३४ टन र संयुक्त अरब इमिरेट्सबाट दुई हजार ४७१ टन आयात भएको छ।

झापाको भद्रपुर नगरपालिका-३ स्थित भीमलाल सुवेदीको घर। 

गत आर्थिक वर्षमा २५ करोड ७० लाख रुपैयाँ बराबरको एक हजार २८६ टन मगज आयात भएको थियो। त्यसमध्ये अफगानिस्तानबाट ४४५ टन, नाइजेरियाबाट ३२४ टन र चीनबाट १४५ टन भित्रिएको थियो।

भन्सार विभागको तथ्यांकले २०८१ चैतदेखि नै मगज आयात तीव्र रूपमा बढ्न थालेको देखाउँछ। आव २०८०/८१ मा नौ करोड १३ लाख रुपैयाँ बराबरको ५०२ टन, आव २०७९/८० मा दुई करोड १४ लाख रुपैयाँको १२७ टन र आव २०७८/७९ मा दुई करोड तीन लाख रुपैयाँको ९९ टन मगज आयात भएको विभागले जनाएको छ।