काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा रहेको रामजानकी विद्युतीय चलचित्र संग्रहालय र राम जानकी विवाहमण्डपमा ताला लगाइएको छ। मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले हिजो साँझ विवाहमण्डप र संग्रहालयमा काट्दै आएको टिकट खोसेर लगेपछि जानकी मन्दिरका व्यवस्थापन पक्षले ताला लगाएको हो।

मन्त्री महतोले पर्यटकहरूलाई निःशुल्क प्रवेश दिनुपर्ने भन्दै मन्दिर व्यवस्थापनले काट्दै आएको टिकट खोसेर लगेका थिए। त्यसपछि मन्दिर व्यवस्थापनले दुवै ठाउँमा ताला लगाएको छ। ताला लगाइएपछि आउने पर्यटकहरू विना दर्शन फर्किने गरेका छन्। संग्रहालयमा नेपाली १५ रुपैयाँ र भारतीय १० रुपैयाँ लिइँदै आएको छ।

त्यसैगरी, विवाहमण्डप अवलोकनका लागि जाने श्रद्धालुहरूबाट नेपाली १० रुपैयाँ  र भारतीय ७ रुपैयाँ लिँदै आएको थियो। सो रकमबाट नै मन्दिरको संरक्षण, संवर्द्धन र विकास हुँदै आएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।

मन्दिर र स्थानीय प्रशासनको समन्वयविना एक्कासि संग्रहालय र विवाहमण्डपको टिकट खोसेर लगेपछि बाध्य भएर आफूले ताला लगाएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले जानकारी दिएका छन्।

महन्थ दासले एक्कासि गुन्डा शैलीमा आएर रसिद खोसिएको र आफूसँग छलफलसमेत नगरेको र उल्टै अनावश्यक बोलेको आरोप लगाए।

मन्त्री महताेले भने मन्दिरमा शुल्क लगाउन अनुचित रहेको भन्दै आफूले त्यसलाई रोकेको बताए।