काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

जनकपुर। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ।

बैठकमा आगामी आव ०८३/८४ को बजेटसहितको आर्थिक विनियोजन विधेयक २०८३ प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको हो। बजेटमाथिको छलफलमा भाग लिँदै अधिकांश प्रदेश सभा सदस्यहरूले सरकारले ल्याएको बजेटमा रहेको त्रुटि सच्याउन ध्यानकर्षण गराएका थिए।

विपक्षी दलले बजेटमा देखिएको त्रुटिलाई औँल्याएर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए भने सत्ता पक्षले बजेट जनमुखी र जनताको हितमा आएको भन्दै बजेटको प्रशंसा गरेका थिए। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले समुन्नत प्रदेश, समृद्ध प्रदेश बनाउन सबैसँग सरकार हातोलामो गरेर अगाडि बढन तयार रहेको बताए।

उनले विगतको बजेटभन्दा यसपटक निकै प्रगतिशील र जनताको हितमा आएको जिकिर गरे। उनले भने‚ “विगतमा बजेटमा देखिएको बेथितिबाट पाठ सिकेर सरकारले बजेट निर्माण गरेको छ। जसले जनताका समस्यालाई सम्बोधन गरेको छ।”

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री युवराज भट्टराईले सरकारले ल्याएको बजेटले मधेसको जनतालाई देखिने गरी विकासको अनुभूति हुने बताए। यसले जनताको जनजीविकामा सुधार ल्याएर जनताको आकांक्षा पूरा गर्ने उनको जिकिर थियो।

अर्थमन्त्री भट्टराईले यही १ असारमा प्रदेश सभा बैठकमा आव ०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।