२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको संरचना र कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

कानुन व्यवसायीसमेत रहेका न्यौपानेले सामाजिक सञ्जालमार्फत न्यायालयमा सुधार नगरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने धारणा व्यक्त गरेका हुन्।

उनले पछिल्ला केही घटनाक्रमहरूले न्यायालय सुधारको आवश्यकता देखाएको उल्लेख गर्दै यस विषयमा ढिलाइ गर्न नहुने बताएका छन्।

“न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ,” उनले फेसबुकमा लेखेका छन्।

न्यौपानेले राज्यका सबै निकायले समयअनुसार परिवर्तनलाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै सुधारको प्रक्रिया अघि बढे मात्रै देश परिवर्तनको बाटोमा जान सक्ने बताएका छन्। उनले आफ्नो धारणा क्षणिक प्रतिक्रिया नभई गम्भीर अध्ययन र समीक्षाबाट आएको निष्कर्ष भएको दाबी गरेका छन् ।