२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्।

आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले सातामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमतिअनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौँ तहसरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्नेलगायत माग उनीहरूको छ।