काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

अनुभूति

च्याब्रुङको ताल, रैथाने लिपिका अक्षर र मातृभाषा बोल्न पाउने अधिकार कसैले दानमा दिएको उपहार होइन रहेछ।

३ श्रावण २०८३
अ+
अ-

मोबाइलको स्क्रिनमा घोत्लिएका आँखा र दिमाग आफ्नै बाल्यकालको आँगनतिर फर्किन्छ।

म लिम्बूकी छोरी हुँ। तर, यो वाक्यको गहिराइ मैले बुझेकी थिइनँ। बाल्यकालमा कसैले तिम्रो चाड के हो भनेर सोध्दा मेरो ओठमा चासोक तङनाम शब्द कहिल्यै आउँदैनथ्यो।

मलाई त नेवार समुदायको क्वाँटी पूर्णिमा थाहा थियो, लाखेनाच आफ्नै लाग्थ्यो र गाईजात्राले रोमाञ्चित बनाउँथ्यो।

तिज, दसैँ र तिहार नै मेरा प्राथमिकतामा पर्ने चाडबाड थिए। नेवार, क्षेत्री र बाहुन समुदायको सांस्कृतिक छातामुनि हुर्कंदै गर्दा ती सबैसँग मेरो बाल्यकालमा अपनत्व गाँसिएको थियो।

दसैँमा बुवा हाम्रो त सेतो टीका लगाउने परम्परा हो भन्नुहुन्थ्यो, तर म पल्लो घरकी अजीको हातबाट निधार र कन्चटभरि रातो टीका र जमरा थापेर मुस्कुराउँथेँ।

छिमेकी नेवार समुदायकी अजी (हजुरआमा)को काख मलाई निकै प्रिय लाग्थ्यो। आफ्नै रैथाने भाषामा बोजू भन्नलाई मेरो घरमा बूढापाकाहरू हुनुहुन्नथ्यो। त्यसैले साथीहरूले आफ्ना नातागोतालाई अजाअजी, पाजु (मामा) भनेर बोलाउँदा त्यो लवजको मिठास संगीत जस्तै लाग्थ्यो।

दसैँमा बुवा हाम्रो त सेतो टीका लगाउने परम्परा हो भन्नुहुन्थ्यो, तर म पल्लो घरकी अजीको हातबाट निधार र कन्चटभरि रातो टीका र जमरा थापेर मुस्कुराउँथेँ।

त्यो मिश्रित रंगीन परिवेशमा मलाई आफ्नै समुदायका महिलाले लगाउने गहनाको नाम थाहा थिएन। हाम्रो परम्परागत पहिरन कस्तो हुन्छ, सिलाम साक्माको अर्थ के हो, मांगेना (शिर उठाइ) किन गरिन्छ र उँभौली-उँधौलीको मर्म के हो? मैले धेरै ढिलो गरी मात्रै बुझ्न पाएँ।

आफ्नै रैथाने पहिरन, रैथाने बाजा र मौलिक संस्कृतिसँग मेरो आँखै जुधेको थिएन। जीवनको एउटा मोडमा मैले घर छोडेँ। सायद, घर छोडेकै दिनदेखि भित्रभित्रै आफ्नै समुदाय खोज्ने मेरो अदृश्य यात्रा सुरु भयो।

मेरा बुवा गैरलिम्बू समुदायको बाहुल्य भएको भूगोलमा हुर्कनुभएको थियो भने आमा याक्खा समुदायकी। हाम्रो घर आफैँमा मिश्रित संस्कृतिको संगम त थियो तर त्यहाँ आफ्नोपनको रैथाने सुवास अलि मधुरो थियो।

मलाई त एक समय संखुवासभाको भोटखोला र किमाथांकातिर शेर्पा महिलाले लगाउने बक्खु नै आफ्नो पोसाक हो कि जस्तो लाग्थ्यो, किनकि आँखाले पहिलो चोटि त्यही देखेको थियो।

आफ्नै रैथाने पहिरन, रैथाने बाजा र मौलिक संस्कृतिसँग मेरो आँखै जुधेको थिएन। जीवनको एउटा मोडमा मैले घर छोडेँ। सायद, घर छोडेकै दिनदेखि भित्रभित्रै आफ्नै समुदाय खोज्ने मेरो अदृश्य यात्रा सुरु भयो।

अहिले च्याब्रुङको ताल सुन्दा मेरो मुटुको धड्कन किन फेरिन्छ, म बल्ल बुझ्दै छु। पालामका भाकाहरू सुन्दा आँखाहरू किन अनायासै रसाउँछन्, त्यो महसुस गर्दै छु।

वर्षौंसम्म नमस्कार भन्दै हुर्किएकी मलाई अहिले सेवारोभन्दा कानमा छुट्टै शीतलता महसुस हुन्छ।

मुन्धुमका शब्दहरूमा मैले कुनै दन्त्यकथा होइन, आफ्नै पुर्खाको रगत र पसिनाले लेखिएको इतिहास भेट्टाउन थालेकी छु। मैले बुझेँ, उँभौली र उँधौली अन्नबाली भित्र्याउने वा छर्ने चाड मात्र रहेनछन्, यी त प्रकृति र मानवबीच आदिमकालदेखि चलिआएका जीवन्त संवाद रहेछन्।

मैले पढ्दै गएँ, मुन्धुमका ज्ञाताहरूलाई खोज्दै गएँ र संस्कृतिका अध्येताहरूसँग घुलमिल हुँदै गएँ। बिस्तारै मेरो भाषा, मेरो संस्कार र मेरो पहिचानको कडी मसँग फेरि जोडिँदै गयो। त्यसपछि मात्र ऐनामा वास्तविक आफूलाई चिन्न थालेँ। वर्षौंसम्म नमस्कार भन्दै हुर्किएकी मलाई अहिले सेवारोभन्दा कानमा छुट्टै शीतलता महसुस हुन्छ।

केही वर्षअघि लिम्बुवान आन्दोलनका नेता वीर नेम्वाङसँग लामो संवाद गर्ने अवसर पाएकी थिएँ। उहाँ र उहाँकी पत्नीले सुनाएका संघर्षका आँखै रसाउने कथाहरू सुन्दा म निःशब्द बनेकी थिएँ। आफ्नो भाषा र लिपि सिकाएकै अभियोगमा राज्यले उहाँलाई राजद्रोहको मुद्दा लगायो, जेल हाल्यो। जेलबाट निस्किएपछि पनि वर्षौं भूमिगत हुनुपर्‍यो। आफ्नो मातृभाषा सिकाउँदा देशद्रोही कहलिनुपरेको त्यो कहालीलाग्दो समय सम्झँदा अहिले पनि उहाँको स्वर भारी हुन्छ।

तर, उहाँले मुस्कुराउँदै भनेको एउटा वाक्यले मेरो मस्तिष्कमा गहिरो प्रहार गर्‍यो, ‘त्यतिबेला मेरो टाउकोको मूल्य तोकिएको हल्लासमेत चलेको थियो।’

 म पालामको पदचापमा नाच्न सिक्दै छु। च्याब्रुङको गर्जन सुन्दा मलाई लाग्छ, यो कुनै बाजाको आवाज मात्र होइन, मेरा पुर्खाहरूको जीवित धड्कन हो।

त्यो दिन मैले एउटा कठोर सत्य बुझेँ। म त केवल आफ्नो पहिचान खोज्दै थिएँ, उहाँहरूको पुस्ताले त रगत र आँसु बगाएर हाम्रो पहिचान बचाइदिएको रहेछ।

आज हामीले सहजै देखिरहेको च्याब्रुङको ताल, पुस्तकमा छापिएका रैथाने लिपिका अक्षर र मातृभाषा बोल्न पाउने अधिकार कसैले दानमा दिएको उपहार रहेनछ।

त्यसका पछाडि अँध्यारा जेलका कोठाहरू थिए, भूमिगत जीवनको छटपटी थियो, राज्यको चरम अपमान थियो, र त्यो अपमानका बीच पनि नडगमगाएको एउटा बलियो विश्वास थियो।

द्वन्द्वकालका ती पाटाहरू सम्झँदा आज पनि आङ जिरिङ्ङ हुन्छ। एकादशी बजारमा राति मादल बजाउँदै हिँड्दा राज्यपक्षले मादल फुटाइदिएका घटना हुन् वा पाँचथरको त्रिसाली मेलामा धान नाच्दै गर्दा दाइहरूलाई लखेटेर च्याब्रुङ फुटाइदिएका कथाहरू सुन्दा लाग्थ्यो, बिस्तारै हाम्रो संस्कृति इतिहासको पानाबाटै लोप हुनेछ।

२०६२/६३ को जनआन्दोलन, १० वर्षे सशस्त्र संघर्ष र मधेस आन्दोलनको रापतापपछि जब मुलुकमा संघीयताको बहस सुरु भयो, तब गाउँका अग्रजहरूको अनुहारमा एउटा आशाको चमक देखिएको थियो।

उनीहरू भन्थे– अब हाम्रा भाषा, संस्कृति र पहिचानले पनि यस राज्यको मूलधारमा आदरको ठाउँ पाउनेछन्। तर, ती सबै सपना अझै पूरा भइसकेका छैनन्। भाषा आयोगका सिफारिसहरू कार्यान्वयनको पर्खाइमा छन्। कोसी प्रदेश नामकरणले पहिचानको आन्दोलन गरिरहेका मुटुहरूमा एउटा नयाँ र आलो घाउ थपिदिएको छ। अनेकौँ प्रश्न अझै पनि जायज उत्तर खोजिरहेका छन्।

भाषा हराउँदा केवल शब्दहरू मर्दैनन्, सिंगो पुस्ताको स्मृति मर्दछ। स्मृति मर्दा इतिहास मर्छ, र इतिहास मरेपछि एउटा सिंगो समुदायले बिस्तारै ऐना हेर्दा आफ्नै अनुहार चिन्न छोड्छ।

यति हुँदाहुँदै मैले आफ्नै जीवनभित्र ठूलो परिवर्तन महसुस गरेकी छु। आज आफ्नै परम्परागत पहिरनमा सजिएर बाहिर निस्कँदा अलिकति पनि धक मान्दिनँ, बरु गर्वले मेरो छाती फुल्छ।

म पालामको पदचापमा नाच्न सिक्दै छु। च्याब्रुङको गर्जन सुन्दा मलाई लाग्छ, यो कुनै बाजाको आवाज मात्र होइन, मेरा पुर्खाहरूको जीवित धड्कन हो।

अब मलाई मातृभाषा सिक्नु छ। किनकि, भाषा हराउँदा केवल शब्दहरू मर्दैनन्, सिंगो पुस्ताको स्मृति मर्दछ। स्मृति मर्दा इतिहास मर्छ, र इतिहास मरेपछि एउटा सिंगो समुदायले बिस्तारै ऐना हेर्दा आफ्नै अनुहार चिन्न छोड्छ।

बैरागी काइँलाको एउटा भनाइ अहिले म झन् गहिरो गरी बुझ्दै छु, भाषा रहे मात्र जाति रहन्छ, जाति रहे मात्र उसको पहिचान जीवित रहन्छ।

सायद यही कारण हो, आज प्रदेशसभा खारेजीको बहस सुन्दा/पढ्दा मलाई कुनै प्रशासनिक मन्त्रालय वा बजेटको घाटा सम्झना आउँदैन।

अचेल जब म सांस्कृतिक पहिरन र गहनामा सजिएर ऐनाअगाडि उभिन्छु, लाग्छ केवल कपडाको टुक्रा पहिरिएको छैन, बरु धेरै ढिलो गरेर आफ्नै पुर्खाको गौरवशाली इतिहास ओढेकी छु।

मलाई त वीर नेम्वाङहरूको बैँस र संघर्ष सम्झना आउँछ। जनयुद्धमा जीवन गुमाएकाहरू, मधेस आन्दोलनमा प्राण त्यागेकाहरू सबैको याद आउँछ। आफ्नै पहिरन र पहिचान नचिनेर अलमलिएकी त्यो सानी केटीको झल्को आउँछ, जो बल्ल आफ्नो पहिचान बुझ्दै छे।

अचेल जब म सांस्कृतिक पहिरन र गहनामा सजिएर ऐनाअगाडि उभिन्छु, लाग्छ केवल कपडाको टुक्रा पहिरिएको छैन, बरु धेरै ढिलो गरेर आफ्नै पुर्खाको गौरवशाली इतिहास ओढेकी छु।

त्यसैले प्रदेशसभा खारेजीको बहस मेरा लागि एउटा प्रशासनिक वा राजनीतिक दाउपेच मात्र होइन। यो त संघर्षबाट प्राप्त अस्तित्व र पहिचान फेरि ओझेल पर्ने त होइन भन्ने गम्भीर भय हो।

यो डर मेरो मात्र होइन, आफ्नो भाषा र आन्दोलनबाट ब्युँझिएको, आफ्नो संस्कृति खोज्दै हुर्किएको र आफ्नै पहिचान निकै ढिलो गरी भेट्टाएको सिंगो पुस्ताको साझा अनुभूति हो। यही अनुभूतिमा हामी आफ्नो अस्तित्व भेट्छौँ। र, हामीलाई थाहा छ– आफ्नो अस्तित्वका लागि लडिने लडाइँ नै संसारको सबैभन्दा ठूलो लडाइँ हो।