काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।
‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र रोयल थाई पुलिसको आयोजनामा थाइल्यान्डको बैंककमा सुरु हुन लागेको क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन कार्की त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीसँगै प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि आइतबारै थाइल्यान्ड प्रस्थान गरेका छन्।
बैंककमा ४ देखि ५ साउनमा ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्डस् एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ सम्बन्धी शिखर सम्मेलन हुन लागेको छ।
कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। सम्मेलनमा संगठित अपराधसम्बन्धी चुनौती सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवं समन्वयलगायत एजेन्डामा छलफल हुनेछ।
कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।