काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।

४४औँ बीपी स्मृति सप्ताह तथा नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा आइतबार उनले लोकतन्त्रको आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने बताए। उनले सरकार र प्रतिपक्ष दुवै लोकतान्त्रिक शासन व्यवस्थाका अभिन्न अंग भएको उल्लेख गर्दै सबै दल सरकारमा सहभागी हुने अभ्यासले जनप्रतिनिधिमूलक प्रणालीलाई कमजोर बनाउने धारणा राखे।

सभापति थापाले प्रदेश सरकार गठन वा पुनर्गठनका नाममा प्रतिपक्षलाई समाप्त पार्ने कुनै पनि राजनीतिक अभ्यासले लोकतान्त्रिक प्रणालीलाई क्षति पुर्‍याउने चेतावनीसमेत दिए। उनले जनमतको सम्मान गर्दै संविधानको भावना र संसदीय परम्पराअनुसार सरकार गठन हुनुपर्नेमा जोड दिए। सभापति थापाले नेपाली कांग्रेस लोकतन्त्र, संवैधानिक व्यवस्था र संसदीय अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रस्तावको पक्षमा नरहने स्पष्ट पाए।

उनले कांग्रेसभित्र एकता, अनुशासन र जनविश्वासलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई नयाँ पुस्ताको अपेक्षाअनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी) ले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने बताए। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेख्य सहभागिता थियो।