किभ। रुसी सेनाले युक्रेनको राजधानी किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँचवटा जिल्लामा आगलागी भएको थियो। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारीसाधनमा क्षति पुगेको छ।
उद्धारकर्मीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनाको उद्धार गरेका थिए भने शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीनतले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पुर्याएका थिए। गैरआवासीय भवनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ एक जनाको शव फेला परेको थियो।
दमकलकर्मीले सोलोम्यान्स्की, देस्नियान्स्की र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएका थिए।
यसैबीच, रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभाव युक्रेनले सामना गरिरहेका बेला रुसले पछिल्ला सातामा किभमाथि ठूला आक्रमण तीव्र पारेको छ।