काठमाडौँ। काठमाडौँको कुलेश्वरमा गोली चलाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार दिउँसो दुई राउन्ड गोली चलाएर दुई नेपाली र एक भारतीयलाई नियन्त्रणमा लिएको हो। प्रहरीको दाबीअनुसार तीनैजना लागुऔषध कारोबारी हुन्।
पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल नामक २४ हजार ७०० एम्पुलसमेत बरामद भएको छ।
पक्राउ परेका भारतीयको खुट्टामा गोली लागेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार ती भारतीय नेपालगन्ज हुँदै आइतबार काठमाडौँ आइपुगेका थिए। “उनलाई हामीले पहिलेदेखि खोजिरहेका थियौँ। आज काठमाडौँमा फेला पार्न सकियो,” बोहोराले भने, “गोली लागेका भारतीयलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ।”