काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

सार्वजनिक नीति समिति

४ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रिय सभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेशअन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको ४ वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले लामो वर्ष बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुतमार्ग कहिले बन्छ भन्ने कुरा अझै टुंगो लाग्न नसकेको बताए। सरकारले ४ वर्षभित्र सम्पन्न हुने बताए पनि निर्माणस्थलको अनुगमन र प्राविधिकहरूसँगको छलफलपछि ४ वर्षभित्र पनि सकिने लक्षण नदेखिएको उनको भनाइ छ।

त्यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुतमार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताए। उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा भएको ढिलाइ र बजेट व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने सुझाए।

समितिले केही समयअघि काठमाडौँ-तराई/मधेस द्रुतमार्ग, नागढुंगा सुरुङमार्ग, राष्ट्रपति चुरे तराई-मधेस संरक्षण कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो। आगामी बैठकमा अनुगमन प्रतिवेदनमाथि विस्तृत छलफल हुने समिति सभापति पूजा चौधरीले जानकारी दिइन्।