काठमाडौँ। नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ। यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ।
निरन्तरको वर्षाले जनजीवन पनि प्रभावित बनेको थियो। उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए। केही ठाउँमा सडक भासिएको थियो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना अझै छ। आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
देशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आगामी तीन दिनसम्म कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
ती क्षेत्रमा हुनसक्ने गेग्य्रान, बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
जगडोल, हलचोक, ह्वाइट गुम्बा क्षेत्रबाट आज काठमाडौँ कस्तो देखिएको छ? यस्ता छन् थप तस्बिर :
