काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई मोरङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत अररिया बौकाहा मझराका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरको टोलीले बुधबार दुबै जनालाई रंगेली नगरपालिका-७ बाट पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १०१ ग्राम ब्राउनसुगर बरामद भएको छ।
उनीहरू बीआर३८एएच ७१९३ र बीआर३८एक्यू ८२४३ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीले पक्राउ परेकालाई इलाका प्रहरी रंगेलीको हिरासतमा राखेको छ।
यस्तै, प्रहरीले काठमाडौँबाट ब्राउनसुगरसहित अर्का एक जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-४ का ४५ वर्षीय दीपक श्रेष्ठलाई १३६५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।